Technology Khabar ४ श्रावण २०७८, सोमबार
काठमाडौं ।
नेपालले अब सिधै समुन्द्रसम्म आफ्नै इन्टरनेट केबल विछ्याउने योजनाअन्तरगत स्टेशन बनाउने भएको छ।
गत आर्थिक वर्षमा नै समुन्द्रसम्म इन्टरनेट केवल पुर्याउने संम्भाव्यता अध्ययन गराएको नेपाल दूरसञ्चार प्राधिकरणले अब त्यसको लागि ल्याण्डिङ्ग स्टेशन समेत तयार पार्ने भएको छ ।
प्राधिकरणले चालु आवको बजेटमार्फत सिधै समुन्द्रसम्मको इन्टरनेट केबललाई देशभित्र ल्याउने गरि सबमरिन ल्याण्डिंग स्टेशन बनाउने भएको हो ।
यसको लागि प्राधिकरणले चालु आबमा ३० करोड रुपैयाँ बजेट छुट्याएको छ।
प्राधिकरणको योजनाअनुसार यसै आवभित्र बोलपत्रमार्फत आपूर्तिकर्ता छनौट गरेर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
यसले आगामी दिनमा देशभित्र सस्तो दरमा इन्टरनेट ब्याण्डविथ भित्रिने र इन्टरनेटको शुल्क घट्ने अपेक्षा गरिएको छ ।
अहिले नेपालले छिमेकी देशहरु भारत र चीनबाट विभिन्न कम्पनीहरुसँग सम्झौता गरेर अन्तराष्ट्रिय ब्याण्डविथ आयात गरिरहेको छ । जसले गर्दा आयातकर्ता कम्पनीहरुले महंगो मूल्य तिर्नुपरेको छ भने ग्राहकहरुलाई समेत सेवा शुल्क महंगो रहेको छ ।
तर सबमरिन इन्टरनेट केबल सिधै देशभित्रै आउँदा अन्तराष्ट्रिय बजारमा विभिन्न कम्पनीहरुसँग सस्तो मूल्यमा ब्याण्डविथ आयात गर्न सकिने संभावना रहन्छ।
यो पनि हेर्नुस्-
समुन्द्रसम्म इन्टरनेट पुर्याउने अध्ययनका लागि परामर्शदाता छनौट, ४ महिनाभित्र प्रतिवेदन बुझाउने
प्रकाशित: ४ श्रावण २०७८, सोमबार