
काठमाडौं ।
नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ। करिब एक वर्षको तयारीपछि आईतबारबाट उक्त प्रणाली लागु भएको हो। यस प्रणालीसँगै अब निगमका सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन्।
यसअघि गत बैशाख ३ गतेदेखि उक्त सिस्टम लागू गर्ने तयारी भएतापनि विभिन्न कारणले गर्दा रोकिएको थियो। ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको बताएको छ।
ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछन्।
निगमकाअनुसार ईआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोडिएका छन् । ईआरपी सिस्टम लागू भएसँगै इन्धनको बिलिङ सुरु भएको छ।
उक्त प्रणालीबाट निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउने छन् । अब एकै स्थानबाट निगरानी र निर्देशन हुने बताइएको छ।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार