हाइड्रोजन उत्पादनको अनुसन्धान गर्दै काठमाडौँ विश्वविद्यालय

  • Technology Khabar | ४ श्रावण २०७८, सोमबार
हाइड्रोजन उत्पादनको अनुसन्धान गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौं ।

काठमाडौँ विश्वविद्यालय (केयू)ले वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने ‘हाइड्रोजन’ उत्पादनको अनुसन्धान सुरु गरेको छ।

विश्वविद्यालय सभाको ९०औँ बैठकका निर्णयहरू सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले डिजेल, पेट्रोलको प्रयोगलाई कम गरी कार्बन उत्सर्जनमा कमी ल्याउनका लागि विश्वविद्यालयले पहिलो पटक इलेक्ट्रिक गाडी खरिद गरेको बताए ।

विश्वविद्यालयका सह प्राध्यापक डा. बिराज सिंह थापाले नेपाल आयल निगमलाई सघाउने उद्देश्यले करिब एक वर्षअघि विश्वविद्यालयमा ‘ग्रिन हाइड्रोजन ल्याब’ को स्थापना गरी हाइड्रोजन उत्पादन गर्न अनुसन्धानको काम भइरहेको बताए । ‘आगामी दिनमा विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने गाडी बनाएर सडकमा प्रर्दशन गर्ने सोच अघि बढाएका छौँ,’ ग्रिन हाइड्रोजन ल्याबका टोली प्रमुखसमेत रहेका थापाले भने ।

विश्वमा डिजेल, पेट्रोललगायतका इन्धनको प्रयोग गर्दा कार्बन उत्सर्जनका कारण वातावरण प्रदूषण भइरहेको बताइएको छ ।

उनले यस परिस्थितिमा जलवायु परिवर्तनमा नकारात्मक असर परेको अवस्थामा धेरै देशमा हाइड्रोजन प्रयोगको सुरुवात भएकाले नेपालमा पनि यसको आवश्यकता रहेको बताए । उनले नेपालमा रहेको जलविद्युत् प्रयोग गरेर पानीलाई टुक्राई हाइड्रोजन निकालेर भण्डारण गरी वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्न सकिने भन्दै विश्वविद्यालयमा रहेको ल्याबमा दैनिक छ जना अनुसन्धानकर्ताले हाइड्रोजन उत्पादनका बारेमा अध्ययन, अनुसन्धानको काम गर्दै आएको बताए ।

“नेपालमा नै हाइड्रोजन निकालेको खण्डमा डिजेल, पेट्रोलको विकल्पमा हाइड्रोजनबाट चल्ने मालवाहक सवारी, सार्वजनिक यातायातका साधनमा प्रयोग गर्न सकिनेछ भने युरिया मलसमेत उत्पादन गर्न सकिनेछ,” थापाले थपे ।

सहप्राध्यापक डा. थापाले केयूमा स्थापना भएको ग्रिन हाइड्रोजन ल्याबले ग्रिन पावर, ग्रिन फ्युल, ग्रिन हिट र ग्रिन प्रोसेसको अवधारणा अघि सारेको बताए । थापाले केयूले ग्रिन हिटअन्तर्गत नेपालमा सञ्चालन भएका इट्टा उद्योग, खानी तथा साना उद्योगहरूमा चाहिने तापका लागि कोइलाको विकल्पमा हाइड्रोजनको ताप दिन सकिने र ग्रिन प्रोसेसअन्तर्गत रसायन उद्योग, खाद्य उद्योग, केमिकल उद्योग, माइनिङ उद्योगमा हाइड्रोजन प्रयोग गर्न सकिने बताए । गोरखापत्र

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...