
काठमाडौं ।
प्युठानका गौमुखी गाउँपालिका–१ स्थित अर्खा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको एक वर्ष हुँदा पनि सञ्चालनमा आउन सकेको छैन्।
विद्युत् नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसकिएको प्रधानाध्यापक लिलुप्रसाद पौडेलले बताए । उनले भने,“गत शैक्षिक सत्रदेखि नै कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउने योजनामा थियौँ तर बिजुली नहुँदा कम्प्युटर त्यसै थन्किएका छन् । विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दीसमेत व्यवस्थापन भएको छैन ।”
विद्यालयमा हाल सङ्घीय सरकारले आर्थिक वर्ष २०७६/७७ मा दिएको ३६ लाख रुपियाँबाट चार वटा सीसी क्यामरासहित २४ थान कम्प्युटर, वाईफाई राउटर, सोलार ब्याट्रीलगायतका उपकरण जडान गरिएका छन् तर सबै प्रयोगविहीन रहेका छन् ।
ल्याब स्थापना गर्न गाउँपालिकाले पनि एक लाख ५० हजार रुपियाँको फर्निचर दिएको वडाध्यक्ष मानबहादुर थापाले जानकारी दिए ।
गौमुखी र नौ बाहिनी क्षेत्रमा अझै पनि विद्युत्को लाइन पुगेको छैन् । जसले गर्दा विद्यालयमा कम्प्युटर भए पनि सञ्चालन हुन सकेका छैनन् ।
प्युठानका ७६ वटा माविमा कम्प्युटर ल्याब स्थापना गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शिव पण्डितले जानकारी दिए । उनले बिजुलीको अभाव र केन्द्रबाट प्राप्त हुने दरबन्दी नआउँदा समस्या भएको र अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखे र विद्यालय सञ्चालन गर्दै आएको बताए। गोरखापत्र
प्रकाशित: २ श्रावण २०७८, शनिबार