
काठमाडौं ।
माइक्रोसफ्ट तथा प्रविधि मानव अधिकार समूह सिटिजन ल्याबले एउटा इजरायल समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि बिक्री गरेको आरोप लगाएको छ।
सिटिजन ल्याबका अनुसार क्यान्दिरु नामको उक्त समूहले विन्डोज ह्याक गर्ने उद्देश्यले ह्याकिङ टूल सिर्जना गरेर ह्याकरहरुलाई बेचेको हो।
यस्ता गोप्य कम्पनीहरुले सामान्य सफ्टवयरमा समस्या खोजेर त्यसमार्फत ह्याक गर्ने यस्ता निगरानी गर्ने खालका थुप्रै उत्पादनहरु निर्माण गरेर बेच्ने गर्दछन्।
माइक्रोसफ्ट तथा सिटिजन ल्याबका अनुसन्धाताहरुको प्राविधिक विश्लेषणको विवरणमा क्यान्दिरुको ह्याकिङ टूल कसरी विश्वभरका थुप्रै अज्ञात उपभोक्तासम्म पुग्छ, त्यसपछि एउटा साउदी विद्रोही समूह तथा वामपन्थी इन्डोनेशियाली वामपन्थी समाचार संस्था लगायतका नागरिक संस्थाहरुलाई कसरी लक्षित गरिन्छ भन्ने प्रस्ट्याइएको थियो।
यसबारेमा क्यान्दिरुसँग सम्पर्क गर्न खोज्दा सफल नभएको रोयटर्सले जनाएको छ।
माइक्रोसफ्टले भेट्टाएको ह्याकको प्रमाणअनुसार यो प्रोग्राम इरान लेबनन स्पेन तथा बेलायत लगायत थुप्रै देशका यूजरहरुका लागि प्रयोग गर्ने गरी किनबेच भएको सिटिजन ल्याबले जानकारी दिएको छ।
कम्पनीले भेटिएका समस्याहरु गत मंगलबार सफ्टवयर अपडेटमार्फत् समाधान गरेको बताएको छ। माइक्रोसफ्टले यसका पछाडि सोझै क्यान्दिरुको हात रहेको नभनी सावरगमको छद्म नामका ‘इजरायलका निजी क्षेत्रका आक्रामक अभियन्ता’ हरु भएको भन्दै आएको छ।
‘सावरगमले सामान्यतया विश्वभरका उपभोक्ता तथा सरकारी निकायलाई आफ्ना लक्षित वर्गका कम्प्युटर, फोन, नेटवर्क पूर्वाधार तथा इन्टरनेटमा आबद्ध डिभाइसहरु ह्याक गर्नका लागि ‘साइबर हतियार’ हरु बिक्री गर्ने गर्दछ, माइक्रोसफ्टले एउटा ब्लग पोस्टमा लेखेको छ, ‘यी निकायहरुले आफ्ना आवश्यकताअनुसार लक्षित वर्गका डिभाइस ह्याक गर्न प्रयोग गर्छन्।’
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार