उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको घोषणा

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको घोषणा

काठमाडौं ।

उद्योग संगठन मोरङले नवीन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गरेको छ।

उद्यमशीलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरण गर्ने उद्देश्यले सो कार्यक्रमको शुभारम्भ गरिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कार्यक्रमको शुभारम्भ गर्दै युवाहरुको नवीनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्नका लागि कार्यक्रम महत्वपूर्ण रहेको बताए।

कार्यक्रमका सम्वन्धमा थप प्रकाश पार्दै स्टार्टअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले अठार महिना अवधि रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नवीन व्यवसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका र बढीमा २ वर्षदेखि सञ्चालनमा रहेका शुरुआती अवस्थाका उद्यमहरु सहभागी हुन सक्ने बताए।

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनौट गरी निःशुल्क सेवा उपलब्ध गराइने बताईएको छ।

कार्यक्रम अन्तर्गत छनौट भएका स्टार्टअप व्यवसायहरुलाई व्यवसायिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका व्यवस्थापकीय विषयमा परामर्श सेवा उपलब्ध गराइने छ।

साथै व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकहरुसँग नेटवर्क विस्तार, वित्तीय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वय एवं सहजीकरण र बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विषयमा परामर्श सेवा उपलब्ध गराइने छ।

यसका अलावा, छनौट भएका स्टार्टअपहरुको व्यवसायको प्रकृति अनुसार अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैर सरकारी क्षेत्र, तथा निजी क्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परीक्षण केन्द्रहरुसंग समन्वय गरि सेवा उपलब्धताका लागि सहजीकरण गरिने जानकारी दिईयो।

साउन ३२ गतेससम्म आवेदन गर्न सक्ने गरि अनलाईन आवेदन शुरु गरिएको छ। कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी आवेदन फारमको नमुना तथा अनलाइन आवेदन फारम संगठनको वेबसाइट www.cim.org.np बाट सहज उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार