लगानीकर्ताहरुलाई गुमराहमा राखेको आरोपमा अन्तरिक्ष स्टार्टअप ‘मोमेन्टस स्पेस’लाई जरिबाना

  • Technology Khabar | ३० असार २०७८, बुधबार
लगानीकर्ताहरुलाई गुमराहमा राखेको आरोपमा अन्तरिक्ष स्टार्टअप ‘मोमेन्टस स्पेस’लाई जरिबाना

काठमाडौं ।

अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनले मंगलबार अन्तरिक्ष स्टार्टअप कम्पनी मोमेन्टस तथा यसका संस्थापक मिखाइल कोकोरिचमाथि लगानीकर्तालाई गुमराहमा राखेको आरोप लगाएको छ।

उसका अनुसार आरोपित कम्पनी र त्यसका सीईओले कम्पनीको प्रोपल्सन प्रविधिका बारेमा लगानीकर्तालाई गुमराहमा राखेको तथा देशका नियामकहरुको रुसी संस्थापकसँग सम्बन्धित राष्ट्रिय सुरक्षासम्बन्धी चासोलाई नजरअन्दाज गरेको छ।

कमिसनले उक्त स्टार्टअपको आईपीओ जारी गर्नका लागि स्वामित्व लिन लागेको स्टेबल रोड कर्प कर्पलाई समेत यो आरोपमा सामेल गरेको छ।

स्टेबल रोड कर्प एउटा विशेष उद्देश्यका लागि अन्य कम्पनीको स्वामित्व ग्रहण गर्ने कम्पनी हो र कमिसनले यसका सीईओ ब्रायन कबोट तथा प्रायोजक एसआरसी-एनआई लाई समेत यो प्रकरणमा जिम्मेवार मानेको छ।

यो मुद्दामा मोमेन्टसका सीईओ कोकोरिचबाहेक सबैले कमिशनलाई आवश्यक जरिबाना तिरेर यसबाट मुक्त भइसकेका छन्।

सन् २०१७ मा स्थापना भएको मोमेन्टसले पहिले नै अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई पानीमा आधारित प्रोपल्सन प्रणालीको सहायताले तानेर अन्य कक्षहरुमा पुर्याउने ‘लास्ट माइल’ यातायात सुविधा प्रदान गर्दछ।

कमिशनका अनुसार मोमेन्टसले आफ्ना लगानीकर्ताहरुलाई अन्तरिक्षमा आफ्नो प्रविधि सफलतापूर्वक परीक्षण गरिसकेको झूटो जानकारी दिएको थियो। वास्तवमा यो कम्पनीले उक्त प्रविधि अन्तरिक्षमा एक पटक परीक्षण गरेको र त्यसमा असफल भएको थियो।

उता स्टेबल रोडले पनि यो परीक्षणको नतिजा समीक्षा नगरे पनि समीक्षा गरेको भन्दै हदैसम्मको लापरबाही देखाएको कमिशनको बुझाइ छ।

यसबाहेक यो प्रक्रियामा कमिशनले रुसी कोकोरिच अमेरिकी सुरक्षाका लागि चुनोती भएको प्रमाणित गर्ने कुनै दस्तावेज भने प्राप्त नगरेको बताइएको छ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...