काठमाडौं ।
तनहुँको एक विद्यालयले विज्ञान विषय सञ्चालनमा ल्याएपछि, तनहुँका अतिरिक्त नवलपरासी र स्याङ्जाका गरी तीन जिल्लाका छ वटा पालिकाका विद्यार्थीलाई विज्ञान पढ्न सहज भएको छ ।
भिमाद नगरपालिका–६, भिमाद स्थित जनज्योति माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा ऐच्छिक विज्ञान विषय सञ्चालनमा ल्याएपछि गाउँमै विद्यार्थीले पढ्न पाएका हुन् ।
गाउँमै विज्ञान विषय पढाइ नहुँदा आर्थिक कठिनाइ भएका विद्यार्थीले विज्ञान पढ्ने रहर अधुरैराख्नुपर्ने अवस्था थियो । गाउँमै विज्ञान पढ्न पाउँदा अभिभावक र विद्यार्थीमा खुसी भएका छन् । पढाइमा अब्बल भए पनि सहरमा गएर पढ्नुपर्ने भएकाले गरिब तथा विपन्न विद्यार्थीको पहुँच विज्ञान विषयमा पुग्न नसकेकाले सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।
सहरमा बसेर अहिलेको महँगीअनुसारको खानपान, कोठा भाडा र मासिक शुल्कका कारण मासिक न्यूनतम १० हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएकाले विद्यार्थी र अभिभावकमा खुसी छाएको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदीले बताए, ‘न्यून आयस्तर भएका अभिभावकलाई सहरमा पढ्दा खर्च थेग्न मुस्किल पर्यो, आफ्नै सामिप्यमा पढाउन पाउँदा निकै सजिलो भएको छ,’
पोखरा, सदरमुकाम दमौली, चितवन, काठमाडौँमा विज्ञान पढ्नको जानुपर्ने बाध्यता टरेको छ घरकै खाना खाएर सहज रूपमा रुचीको विषय पढ्न खुसी लागेको छ,’’ कक्षा ११ की विज्ञानकी विद्यार्थी भिमादकी अनुपा श्रेष्ठले भनिन् ।
विज्ञानकै विद्यार्थी अर्चना गैरे विज्ञान अध्ययन गर्न पाउँदा सहरका सुविधा गाउँम भित्रिन थालेको अनुभूति भएको बताईन्, ‘कोभिडको विषम परि स्थिति र टाढा बसेर अध्ययन गर्दा झन्झटिलो हुने भएकाले विज्ञान पढ्ने सपना अधुरो हुन सक्थ्यो गाउँमै विज्ञान पढ्न पाउँदा सहज भएको छ ।’’
तनहुँको भिमाद नगर पालिका, गाउँपालिकाहरू म्याग्दे, ऋषिङ, घिरिङ, नवलपरासीको बौदीकाली गाउँपालिका र स्याङ्जाको हरिनाश गाउँपालिकामा गरी छवटा पालिकामा सामुदायिक तथा संस्थागत कुनै पनि विद्यालयमा विज्ञान विषय पढाइ नहुने भएकाले गत वर्षदेखि विज्ञान विषय सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
गत वर्ष १८ जना भर्ना भई अध्ययन गर्न थालेको यो वर्ष २५ जना विज्ञान पढ्ने विद्यार्थी भर्ना हुने अनुमान गरिएको विद्यालयले जनाएको छ ।
उतीर्ण गरेको विद्यार्थीले पाइलट, एमबीबीएस, स्नातक तहका इन्जिनियरिङ, नर्सिङ, कृषिजस्ता रोजगारको अवसर हुने विषयहरू अध्ययन गर्न पाउने प्रधानाध्यापक सुवेदीले जानकारी दिए । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्पाउन्ड, खानेपानी, चमेना गृहजस्ता पूर्वाधारको अभाव रहेको उनले बताए ।
प्रकाशित: २८ असार २०७८, सोमबार