क्यान महासंघ र ज्योती विकास बैंकले देशभर सुचना तथा सञ्चार प्रविधि प्रवर्दन र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
क्यान महासंघ र ज्योती विकास बैंकले देशभर सुचना तथा सञ्चार प्रविधि प्रवर्दन र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने

काठमाडौं ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), र ज्योती विकास बैंक लिमिटेडले देशभर सुचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन् ।

नेपालका विभिन्न स्थानमा सुचना तथा संचार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्तरुपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्ने छन् । त्यसका लागि क्यान महासंघ र ज्योती विकास बैंकले शुक्रबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै ज्योती विकास बैंकले क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायी सदस्यहरु तथा सदस्य संस्थामा कार्यरत कर्मचारीहरुलाई रु. १५ लाख सम्मको कर्जा, लघु-उद्यम कर्जाका साथै व्यावसायिक कर्जामा सहुलियत प्रदान गर्ने छ  । साथै, समझदारी पत्रमा उल्लेख भए अनुसार बैंकले अन्य सबै प्रकारका बैंकिङ सेवा तथा सुविधाहरु सकेसम्म सहज र सहुलियत रुपमा उपलब्ध गराउने छ ।

क्यान महासंघमा आबद्ध योग्य संस्था तथा व्यवसायीहरुलाई बैंकले महिला उद्यमशीलता कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा तथा विदेशबाट फर्किएका युवालाई व्यावसायिक कर्जा प्रदान गर्ने क्रममा प्राथमिकतामा राखेर द्रुत गतिमा कार्य सम्पादन गर्ने पनि बताइएको छ । त्यसैगरी सूचना प्रविधिको खुद्रा व्यवसायमा संलग्न क्यान महासंघका सदस्यहरुलाई बैंकले क्युआर कोड उपलब्ध गराउने छ ।

समझदारी पत्रमा क्यान महासंघका उपाध्यक्ष रणजित पोदार र ज्योती विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले हस्ताक्षर गरेका छन्। सो अवसरमा क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मी लगायत दुवै संस्थाका अन्य पदाधिकारीहरुको पनि उपस्थित थियो ।

दुई संस्थावीचको सम्बन्ध तथा बैंकिङ सेवा सम्बन्धमा समन्वय गर्नका लागि क्यान महासंघका उप-प्रबन्धक उदिप बराल र ज्योती विकास बैंकका आर एण्ड डी, मार्केटिङ तथा सीआरएम प्रमुख वसन्त दाहाललाई जिम्मेवारी दिइएको छ।

सन १९९२ मा स्थापित क्यान महासंघको ७ प्रदेश तथा उपत्यका बाहिर ७० जिल्लामा उपस्थिति रहेको छ ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...