स्मार्टवाचका लागि नयाँ अपरेटिङ सिस्टम र चिपसेट ल्याउँदै हुआमी

  • Technology Khabar | २७ असार २०७८, आईतवार
स्मार्टवाचका लागि नयाँ अपरेटिङ सिस्टम र चिपसेट ल्याउँदै हुआमी

काठमाडौं ।

अमेजफिट तथा जेपजस्ता ब्रान्ड रहेको चिनियाँ स्मार्टवाच कम्पनी हुआमीले अब स्मार्टवाचका लागि नयाँ अपरेटिङ सिस्टम तथा चिपसेट ल्याउने भएको छ।

हुआमीले शनिबार आफ्नो एउटा इभेन्ट जुलाइ १३ मा रहेको घोषणा गरेको थियो।

कम्पनीले ल्याउँदै गरेको नयाँ चिपसेट र अपरेटिङ सिस्टम ‘द फ्युचर अफ हेल्थ’ नाम दिइएको सोही इभेन्टमा सार्वजनिक गर्ने बुझिएको छ।

हुआमी टेक्नोलोजिका संस्थापक तथा सीईओ ह्वाङ वाङले आफ्नो कम्पनीले नयाँ विकास गरेको अपरेटिङ सिस्टम विशेषगरी स्मार्टवाचका लागि सुहाउँदो भएका र वेयरेबल डिभाइसमा भएका स्वास्थ्यसम्बन्धी फिचरको फाइदा राम्ररी लिन सक्ने खालको भएको हालै वेबोमा एउटा पोस्टमार्फत् बताएका छन्।

उनले हार्ट रेट मनिटरको नयाँ डिजाइन गरिएको इन्टरफेसको भिडियो पनि शेयर गरेका थिए। यो नयाँ अपरेटिङ सिस्टम आरटीओएसमै आधारित छ वा बिल्कुलै नयाँ हुनेछ भन्ने यकिन छैन।

डिजिटल च्याट स्टेशनले यसको डाइनामिक वाच फेसको भिडियो राखेका थिए भने उनले यसमा रहेको यूआई तथा यूजर अनुभव राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए।

यसमा रहने नयाँ चिपको नाम ह्वाङशान २एस रहने र सीईओ ह्वाङका अनुसार यसमा एउटा स्वतन्त्र जीपीयू पनि समाविष्ट छ। आरआईएससी-भी आर्किटेक्चरमा बनेको यो चिपसेट डुअल कोर रहने र मध्यम प्रदर्शन र कम ब्याट्री खपत गर्ने खालको भएको बुझिएको छ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...