काठमाडौं ।
वनप्लसले आफ्नो वनप्लस ९ सिरिज सार्वजनिक भएपछि आफ्ना स्मार्टफोनहरुका अपरेटिङ सिस्टम कलरओएसमा परिवर्तन गरेको छ।
कम्पनीले वनप्लस ९ सिरिजभन्दा अगाडि आएका केही पुराना फ्ल्यागशिप स्मार्टफोनमा पनि कलरओएस अपडेट गर्ने योजना बनाएको छ।
कम्पनीले गएको मे महिनाको आधाआधीदेखि नै वनप्लस ८ सिरिज तथा वनप्लस ८टीमा कलरओएस ११ को अर्ली एक्सेस प्रोग्राम शुरु गरिसकेको छ।
त्यसको लगभग २ महिनापछि कम्पनीले ती सेटहरुमा स्टेबल अपडेट उपलब्ध हुने समय तोकेको हो।
वनप्लस कम्युनिटी चाइनामा एउटा आधिकारिक पोस्ट शेयर गर्दै वनप्लस कम्युनिटी म्यानेजर जिया लान शुइले वनप्लस ८, वनप्लस ८ प्रो तथा वनप्लस ८टी मा आगामी वर्ष अर्थात् सन् २०२२ मा कलरओएसको स्टेबल भर्सन आउने घोषणा गरेको हो।
तर उनले कलरओएसको कुन भर्सन उपलब्ध हुने भन्ने चाहिँ खुलाएका छैनन्। ओपोले एन्ड्रोइड १२ मा आधारित कलरओएस १२ छिट्टै घोषणा गर्ने भएकाले यसअघिका वनप्लस स्मार्टफोनमा कलरओएस ११ को सट्टा कलरओएस १२ उपलब्ध हुने अपेक्षा गरिएको छ।
गत हप्ता वनप्लसले आफ्नो अक्सिजनओएसको कोडबेस ओपोको कलरओएससँग मर्ज गर्ने पक्का गरेको थियो।
विश्वभरी बेचिने वनप्लस स्मार्टफोनमा भविष्यमा कलरओएस उपलब्ध हुने भए पनि तत्कालका लागि भने कम्पनीले अक्सिजनओएस नै राखेर स्मार्टफोनहरु बजारमा ल्याउने बुझिएको छ।
प्रकाशित: २७ असार २०७८, आईतवार