गण्डकीमा होमस्टे पर्यटन प्रबर्द्धन गर्न “भिजिट गण्डकी” मोबाइल एप सञ्चालनमा

  • Technology Khabar | २६ असार २०७८, शनिबार
गण्डकीमा होमस्टे पर्यटन प्रबर्द्धन गर्न “भिजिट गण्डकी” मोबाइल एप सञ्चालनमा

काठमाडौं ।

गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवा(होम स्टे) लाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोगमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा शुक्रबारदेखि होम स्टे एप प्रयोगमा ल्याइएको हो।

एप सार्वजनिक गर्न भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशिराज भण्डारीले गाउँ पर्यटनलाई प्रवर्द्धन र विकास गर्न प्रविधिको प्रयोग प्रभावकारी हुने बताए ।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले प्रदेश भित्रका होम स्टेलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न, पैसा तिर्न र सबै होम स्टेबारे बुझ्न मिल्ने गरी ‘भिजिट गण्डकी’ नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले पहिलो चरणमा यो एप भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र होमस्टेहरू सक्षम भएपछि भने उनीहरूले नै सञ्चालन गर्न सक्ने जानकारी  दिए ।

हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने सुविधा एपमा उपलब्ध छ भने अन्य २५४ होमस्टेको विवरण तथा जानकारी लिन सकिन्छ । यो एप केही दिनमा गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ । आईओएसमा आउन भने थप केही दिन लाग्ने बताइएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नविनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो एप बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भिटोफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडा, आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समिति संयोजक खगराज आचार्य, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा लगायतले प्रविधिको सञ्चालनसँगै घरवास पर्यटनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

सो डिजिटल प्रविधिको बारेमा अबका केही दिनमा घरबास संचालकहरुलाई तालिम दिने जानकारी दिईयो ।

प्रकाशित: २६ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार