
काठमाडौं ।
हुम्लाको सिमकोट गाउँपालिका-७ को ओख्रेन बस्ती इन्टरनेट सेवामा जोडिएको छ । ओखेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा उक्त गाउँमा इन्टरनेट सेवा जडान गरेको हो।
स्थानीय बासिन्दा हरिबहादुर शाहीका अनुसार सदरमुकाम सिमकोटसँग जोडिएर पनि सो गाउँमा हालसम्म इन्टरनेट सेवा पुगेको थिएन ।
इन्टरनेटको पहुँच पुऱ्याइदिन धेरै ठाउँमा माग गरिए पनि कतैबाट पुरा नभएपछि गाउँकै सामुदायिक वन उपभोक्ता समितिको लगानीमा उक्त इन्टरनेट सेवा सुरुवात गरिएको हो ।
कर्णाली करिडोरको मुख्य सडकखण्डमा पर्ने भए पनि इन्टरनेटले काम नगर्ने सो बस्तीमा वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गरिएको हो ।
ओखन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहले स्थानीयको माग र अहिलेको आवश्यकताअनुसार इन्टरनेट सेवा जडान गरिएको बताए ।
यसबाट इन्टरनेट सेवामा स्थानीयको पहुँच स्थापित भएको छ । यस सेवाबाट बस्तीका ३४ घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि आफ्नै स्रोतबाट सामुदायिक वन उपभोक्ता समितिले ९५ हजार रुपैयाँ लगानी गरेको छ।
गाउँमा इन्टरनेट सेवा सुरु भएपछि विशेषगरी युववायुवती खुसी भएका छन् । वर्ल्डलिङ्कको इन्टरनेट सेवा जडानपछि अब स्थानीय बासिन्दालाई टेलिकमको फोरजी सेवाका लागि अग्ला डाँडामा जानुपर्ने बाध्यता हटेको छ ।
उक्त बस्ती सदरमुकाम सिमकोटबाट गाडीमा ४० मिनेट र पैदल दुई घण्टा दूरीमा छ । वनको आफ्नै लगानीमा दूरदराजको यो वस्तीमा पहिलो पटक इन्टरनेट सेवा जडान भएको हो । गोरखापत्रबाट
प्रकाशित: २६ असार २०७८, शनिबार