माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई १५०० डलर ‘महामारी बोनस’ प्रदान गर्ने

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार

काठमाडौं ।

माइक्रोसफ्टले ‘महामारी बोनस’ आफ्ना कर्मचारीलाई प्रति व्यक्ति १५०० डलर प्रदान गर्ने भएको छ।

द भर्जका अनुसार कम्पनीले एउटा आन्तरिक परिपत्र गर्दै यो एक पटक मात्र प्रदान गरिने बोनस ‘माइक्रोसफ्टले हालै पूरा गरेको अद्वितीय तथा चुनोतीपूर्ण आर्थिक वर्षलाई मध्यनजर गर्दै’ उपलब्ध गराइन लागेको बताएको छ।

माइक्रोसफ्टका चिफ पिपल अफिसर क्याथलिन होगनले हालै कर्माचारीसामू उक्त बोनसको घोषणा गरेकी हुन्। यो बोनस कम्पनीको अमेरिका तथा विश्वभरी रहेका कर्मचारी सबैले पाउने बताइएको छ।

माइक्रोसफ्टले उक्त पुरस्कार बोनस सन् २०२१ मार्च ३१ वा त्यसअघि कम्पनीमा आबद्ध भएका कर्पोरेट भाइस प्रेसिडेन्टदेखि तल्लो तहका आंशिक तथा घण्टाका आधारमा काम गर्नेर् लगायत सबै कर्मचारीलाई प्रदान गर्ने भएको हो।

कम्पनीमा हाल विश्वभरमा गरी १ लाख ७५ हजार ५०८ कर्मचारी रहेका छन्। यो योजनामा माइक्रोसफ्ट मातहतमा रहेका अन्य तीन कम्पनीहरु लिंक्डइन, गिटहब तथा जेनिमिक्सका कर्मचारी अटाउने छैनन्।

यो योजनामा कम्पनीको २० करोड डलर वा दुई दिन वा त्योभन्दा कमको नाफा बराबरको रकम खर्च हुने देखिएको छ।

गत वर्ष फेसबुकले आफ्ना ४५ हजार कर्मचारीलाई १-१ हजार डलरका दरले, अमेजनले होलिडे बोनसका रुपमा प्रति कर्मचारी ३०० डलर तथा बीटीले ६० हजार जनालाई जनही १५०० डलरका दरले उपहार बाँडेका थिए।

द भर्जको सञ्चालक संस्था भक्स मिडियाले पनि गत वर्ष कर्मचारीलाघ जनही १ हजार डलर प्रदान गरेको थियो। अहिले माइक्रोसफ्टले त्यही प्रवृत्ति अनुसरण गर्न लागेको जस्तो देखिन्छ।

माइक्रोसफटले कोभिड महामारी शुरु भएयता वाशिङ्टन राज्यका गैर नाफामूलक संस्थाहरुमा ९ करोड ८० लाख डलरभन्दा बढी दान दिएको पनि दावी गरेको छ।

यसमा जुलाइभित्रमा अरु ६ करोड डलर थप गर्ने प्रतिबद्धता समेत जनाएको छ।

महामारी शुरु भएयता कम्पनीले १ खर्ब ६० अर्ब डलर आम्दानी गरेको छ। यो कमाइ क्लाउड सेवामा बढोत्तरी, ल्यापटप बिक्री, एक्सबक्सको बिक्रीमा भएको वृद्धि तथा विन्डोजको बढ्दो प्रयोगमार्फत् आएको बुझिएको छ।

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार