नयाँ आविष्कार गर्न नेपाली वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
नयाँ आविष्कार गर्न नेपाली वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति समेत रहनु भएको प्रधानमन्त्री ओलीले बिहिबार नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए।

उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छाडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए। मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए।

अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उत्पादन गर्न सकिने उनको भनाई थियो ।

देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उनले बताए ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाई प्रधानमन्त्रीको थियो ।

‘एक जेनेरेसनमा नै  मेहनत गरेर  विद्धान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जिनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं,’ प्रधानमन्त्रीले भने ।

पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुपै स्थान बाँकी रहेको पनि उनले बताए ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उनको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका थिए।

हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठलाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकको भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरियो।

कार्यक्रममा डा आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोगका फैलनमा तापक्रमको भुूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो।

खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वारे, विज्ञान पत्रकारिताका लागि गोविन्दप्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...