९० प्रतिशत जनतामा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच, फिक्स्ड ब्रोडब्याण्डले बढायो ग्राहकको संख्या

  • Technology Khabar | २० असार २०७८, आईतवार

काठमाडौं ।

नेपालमा तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो पटक ९० प्रतिशत नाघेको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको बैशाख महिनाको तथ्यांकअनुसार तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या ९०.५६ प्रतिशत पुगेको हो ।

तथ्यांकअनुसार ब्रोडब्याण्डको प्रयोगकर्ता संख्या ९० प्रतिशत पुर्याउनका लागि फिक्स्ड ब्रोडब्याण्डले सहयोग गरेको देखिन्छ। रिपोर्टअनुसार चैत र बैशाख महिनाको बिच एक महिनामा नै फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरु करिब २ प्रतिशतले बढेका छन् जसले गर्दा कुल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु ९०.५६ प्रतिशत पुगेका हुन् ।

गत चैत महनामा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताहरु २२.७८ प्रतिशत रहेकोमा बैशाख महिनामा सो संख्या बढेर २४.४० प्रतिशत पुगेको हो ।

बैशाख महिनामा देशभर कोरोनाभाइरसको महामारीलेगर्दा भएको निशेधाज्ञाका कारण मानिसहरुले घरबाटै काम गर्ने तथा अनलाइन कक्षा लिने अवस्था आउँदा त्यसको सकारात्मक असर फिक्स्ड वायर्ड ब्रोडब्याण्डमा परेको देखिएको छ ।

त्यसैगरि मोबाइल ब्रोडब्याण्डको प्रयोगकर्ताहरु समेत न्यून मात्रामा वृद्धि भएका छन् । चैत महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु ६५.३९ प्रतिशत रहेकोमा बैशाख महिनामा यो बढेर ६५.४७ प्रतिशत पुगेको छ ।

फिक्स्ड ब्रोडब्याण्ड

प्राधिकरणकाअनुसार फिक्स्ड ब्रोडब्याण्ड वायरलेसका ग्राहकहरु भने घटेका छन् । विशेषगरि कर्पोरेट र ठूला कम्पनीहरुले प्रयोग गर्ने वायरलेस प्रविधिमा चैत महिनामा शुन्य दशमलब ७६ प्रतिशत प्रयोगकर्ताहरु रहेकोमा बैशाख सो घटेर शुन्य दशमलब ६९ प्रतिशतमा पुगेको छ ।

फिक्स्ड वायर्ड ब्रोडब्याण्डतर्फ संख्याको आधारमा हेर्दा एफटीटीएचतर्फ एकै महिनामा करिब ५ लाख ग्राहकहरु बिस्तार भएका छन् । चैत महिनामा एफटीटीएचका ग्राहकहरु ६० लाख ७६ हजार ७१३ जना भएकोमा बैशाखमा यो संख्या एकैपटक ६५ लाख ७४ हजार २९८ जना पुगेका छन् ।

अर्कोतर्फ एडिएसएलका ग्राहकहरु भने घटेर ८ लाख २८६ जना पुगेका छन् । यो संख्या अघिल्लो महिना चैतमा ८ लाख ७ हजार ४०० रहेको थियो ।

फिक्स्ड वायरलेस ब्रोडब्याण्डमध्ये रेडियो वाईफाईका ग्राहकहरु पनि केहि घटेर बैशाख महिनामा १ लाख१८ हजार ३६४ जना भएका छन् । यसअघि चैत महिनामा यो संख्या १ लाख ३८ हजार १९७ जना रहेका थिए ।

मोबाइल ब्रोडब्याण्ड

त्यसैगरि मोबाइल ब्रोडब्याण्डतर्फ बैशाख महिनामा फोरजी प्रयोगकर्ताहरुको संख्यामा करिब २ लाखले कमी आएको देखिएको छ भने थ्रीजी प्रयोगकर्ताहरुको संख्यामा भने सुधार आएको देखिन्छ ।

फोरजीका कुल प्रयोगकर्ताहरु बैशाख महिनामा ७६ लाख ९७ हजार ८६३ पुगेको छ । जून अघिल्लो महिनामा ७८ लाख ७१ हजार ५५५ रहेका थिए ।
अर्कोतर्फ थ्रीजीका ग्राहकहरु करिब २ लाखले बढेको तथ्यांकमा देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार १ करोड १७ लाख ६० हजार ५०४ जना रहेकोमा यो संख्या बैशाखमा वृद्धि हुँदै १ करोड १९ लाख ५६ हजार १२० जना पुगेको छ ।

फोरजीमा एनसेलको अग्रता

फोरजीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेल आजियाटाको ४८ लाख ५ हजार माथि पुगेको छ भने नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताहरु २६ लाख ८६ हजार नाघेका छन् । त्यसैगरि स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ताहरु २ लाख ६ हजार भन्दा केहि बढि रहेका छन् ।

थ्रीजीमा नेपाल टेलिकम अगाडी

थ्रीजीमा भने नेपाल टेलिकमको नै अग्रता रहेको देखिएकोछ। थ्रीजी प्रयोगकर्ताहरु टेलिकमका ९४ लाख ९४ हजार भन्दा धेरै रहेका छन् भने एनसेलका थ्रीजी प्रयोगकर्ताहरु वैशाख महिनामा २४ लाख ६२ हजार भन्दा धेरै छन् ।

ईभिडियो ब्रोडब्याण्डतर्फ भने १ लाख ३६ हजार हाराहारी ग्राहकहरु रहेको देखिन्छ।

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार