काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले क्लामशेल जस्तै देखिने फोल्डिङ डिजाइनमा काम गरिरहेको बुझिएको छ।
चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन सीएनआईपीएमा हालै दर्ता गरिएको एक पेटेन्टमा शाओमीको उक्त फोल्डेबल डिभाइसको मोडलको चित्र रहेको र यो सामसङ ग्यालेक्सी जेड फ्लिप सिरिजको जस्तै रहेकव बताइएको छ।
शाओमीले आफ्नो पहिलो फोल्डेबल फोनका रुपमा यसै वर्षको शुरुवातमा एमआई मिक्स फोल्ड निकालेको थियो। यसको डिजाइन ग्यालेक्सी फोल्ड सिरिजको जस्तै किताब झैं उघ्रिने खालको थियो।
माइस्मार्टप्राइसले सीएनआईपीएमा रहेको उक्त पेटेन्ट डिजाइन पहिलो पटक देखेको र त्यसपछि उसले शाओमीको आउँदै गरेको फोल्डेबल फोनको डिजाइनको विभिन्न कोणबाट लिइएका थुप्रै फोटोहरु शेयर गरेको थियो।
यसको उघ्रने तरिका भने किताबजस्तो नभएर समुद्रको मोति पाइने सीपीको झैं रहनेछ। दुई पाटालाई जोड्न तथा खोल्न र बन्द गर्न प्रयोग गरिएको हिन्ज कुनै एक भागबाट देखिन्छ।
यसको डिस्प्लेको किनारामा मोटो बेजल लगाइएको छ भने स्क्रीनको बायाँ कुनामा एउटा सानो औषधीको चक्की आकारको भाग दिइएको छ।
यो पेटेन्ट मात्रै भएकाले शाओमीले यो डिभाइस सार्वजनिक नै गर्छ भन्ने छैन। यसका लागि केही समय कुर्नै पर्ने हुन्छ।
प्रकाशित: २० असार २०७८, आईतवार