
काठमाडौं ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगा चोकसम्मको सडकखण्डमा ६४ वटा सिसि क्यामरा जडान गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गरे ।
सिसि क्यामरा जडान समितिले आयोजना गरेको सो कार्यक्रममा उनले सडकमा हुने दुर्घटनादेखि अपराध अनुसन्धानलाई सबल बनाउन यसले ठूलो मद्दत पुर्याउने बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकमा जोडिएका सिसि क्यामराले प्रहरी प्रशासनमा सुक्ष्म अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रदीप श्रेष्ठले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताउँदै सुरक्षित राजमार्ग बनाउन तथा अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट यस कार्यका लागि ठूलो रकम सङ्कलन गरिएको उल्लेख गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जिल्लामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणदेखि शान्तिसुरक्षा कायम राख्नमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताउँदै समुदायस्तरमा हातेमालो गरेर सडकमा सिसि क्यामरा जडान गर्नुले अपराध अनुसन्धानमा प्रहरीलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
समितिका कोषाध्यक्ष नविन प्रजापतिले १३ किलोमिटर सडकमा जडान गरिएका सिसि क्यामराले सयौँ प्रहरीको काम गर्ने बताउँदै सूर्यविनायक नगरपालिकाको रु.१० लाख तथा स्थानीय उद्योगी, व्यवसायी, बैङ्कलगायत संस्थाबाट सङ्कलन भएको कूल रु ८० लाख २ हजार १७४ बाट उच्च प्रविधिको ६४ वटा सिसि क्यामरा जडान गरिएको बताए ।
उनले सङ्कलित रकममध्ये सिसि क्यामरालगायत सामग्री खरिदमा रु. ५६ लाख ४७ हजार र अन्यमा केही खर्च भएको बताउँदै त्यसबाट बाँकी रहेका रु. १८ लाख ७२ हजार समितिको नाममा बैंक खातामा रहेको जानकारी दिए । बाँकी रहेका रकमबाट च्यामासिंह, कमलविनायक बसपार्कलगायत आवश्यक ठाउँमा थप सिसि क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत प्रजापतिले पेप्सीकोला, सानोठिमी र भक्तपुर सडकमा पनि सिसि क्यामरा जडान गर्न आग्रह गरे।
प्रकाशित: १९ असार २०७८, शनिबार