
काठमाडौं ।
नेपालमा सञ्चालनमा रहेका मोबाइल अपरेटरहरुमध्ये फोरजी सेवामा सबैभन्दा तिब्रगतिको इन्टरनेट स्मार्ट टेलिकमको नेटवर्कमा देखिएको छ ।
हालै इन्टरनेटमा आधारित उत्पादनहरु ल्याउने कम्पनी स्पीडचेकरले सार्वजनिक गरेको गत अप्रिल महिनाको तथ्यांकअनुसार स्मार्ट टेलिकमको फोरजी सेवाको डाउनलोड स्पीड तीनवटा सेवा प्रदायकहरुमध्ये सबैभन्दा माथि रहेको देखिएको छ ।
स्पीडचेकरकाअनुसार गत अप्रिल महिनामा स्मार्ट टेलिकमको फोरजी डाउनलोड स्पीड ९.२८ मेगाबाइट प्रति सेकेण्ड रहेको छ ।
तथ्यांकअनुसार दोस्रो स्थानमा भने नेपाल टेलिकम रहेको देखिएकोछ । सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको फोरजी डाउनलोड स्पीड ८.४५मेगाबाइट प्रति सेकेण्ड रहेको छ ।
फोरजीमा आधारित इन्टरनेट सेवामध्ये सबैभन्दा कमजोर एनसेल आजियाटा देखिएको छ । तथ्यांकअनुसार एनसेलको फोरजी नेटवर्कमा आधारित डाउनलोड स्पीड ७।१० मेगाबाइट प्रति सेकेण्ड रहेको देखिन्छ ।
तथ्यांकमा एनसेलको ७१ हजार भन्दा बढि डाटा लिईएको थियो भने नेपाल टेलिकमको ३५ हजार धेरै स्याम्पल तथा स्मार्ट टेलिकमको ३ हजार भन्दा धेरै स्याम्पल संकलन गरिएको थियो ।
स्पीडचेकरकाअनुसार स्मार्ट टेलिकम शतप्रतिशत फोरजी नेटवर्कमा मात्र रहेको छ भने त्यसपछि एनसेल आजियाटा रहेको छ । एनसेलको नेटवर्कमध्ये ९५.२३ प्रतिशत फोरजी उपलब्धता रहेको छ ।
सबैभन्दा अन्तिममा रहेको नेपाल टेलिकमको फोरजी कभरेज ९२.२१ प्रतिशत मात्र रहेको देखिन्छ ।
सो तथ्यांकका लागि स्पीडचेकरले एनसेलका १ लाख ४४ हजार भन्दा धेरै स्याम्पल लिएको थियो भने नेपाल टेलिकमको ७३ हजार भन्दा धेरै तथा स्मार्ट टेलिकमको २८ सय स्याम्पल लिएको थियो ।
प्रकाशित: १८ असार २०७८, शुक्रबार