
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आफ्नो नाममा नक्कली फेसबुक पेज बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
केहि दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा २ सय जनालाई नगद अनुदान दिने भन्दै ‘सेन्ट्रल बैंक अफ नेपाल’ को नामबाट एक पोष्ट भाइरल भएसँगै केन्द्रीय बैंकले सो सूचना जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो।

सो फेक पेजको पोस्टमा लेखिएको छ, ‘केन्द्रीय नेपालले २ सय व्यक्तिका लागि नगद अनुदान घोषणा गरेको छ । यसका लागि अहिले दर्ता गर्नुहोस् ।’

सो नक्कली र अनधिृकत फेसबुक पेजमा गैरकानूनीरुपमा राष्ट्र बैंकको लोगो प्रयोग गरिएको भएपनि त्यसको लिंक भने क्यूआर कोड अनलाइनमा सिर्जना गर्ने कम्पनी फ्लोकोडमा राखिएको छ ।
राष्ट्र बैंकले सो नक्कली र अनधिृकत फेसबुक पेजबारे सबैलाई सचेत गराएको हो ।
अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्न सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ । साथै यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई राष्ट्र बैंकले अपिल गरेको छ।
प्रकाशित: १७ असार २०७८, बिहीबार