
काठमाडौं ।
नेपाल टेलिकमले हुम्लाका पाँचवटा सामुदायिक विद्यालयलाई कम्प्युटरलगायतका शैक्षिक सामग्री सहयोग गरेको छ । दुर्गमका विद्यालयको आइटी ल्याब विस्तार कार्यक्रमअन्तर्गत टेलिकमले ती सामग्री सहयोग गरेको हो ।
खार्पुनाथ गाउँपालिका–५ को सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले टेलिकमले उपलब्ध गराएको आईटी ल्याबका सामग्री विद्यालयमा आइपुगेको बताए ।
उपलब्ध कम्प्युटरका सामग्रीमा १९ वटा कम्प्युटर, प्रोजेक्टर, सीसीटीभी क्यामरा, प्रोजेक्टर, स्टेबलाइजर, ब्याकअपलगायत रहेका छन् ।
प्रअ शाहीका अनुसार आईटीका सामग्री सहयोग स्वरूप प्राप्त भएपछि विधार्थीलाई अभ्यास गर्न सहज हुनेभएको छ । हाल विद्यालयसँग भएका छवटा कम्प्युटरबाट ३५ जनाभन्दा बढी विधार्थीलाई पठनपाठन तथा अभ्यास गर्न कठिन भएको बेला टेलिकमद्वारा प्राप्त यो सहयोगले धेरै मद्धत पुग्ने बताइएको छ।
शाहीले यसबाट कक्षा छ, सात र आठका विद्यार्थीको कम्प्युटर शिक्षा पठनपाठनमा सहज हुने बताए।
३४ लाख मूल्यका कम्प्युटरका सामग्री टेलिकमले काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरमा चार्टर गरेर विद्यालयमा ढुवानी गरेको हो । खार्पुनाथको सीता माविसहित अदानचुली गाउँपालिकाको कैलाश मावि र सूर्योदय मावि तथा ताँजाकोटको मदानादेव माविलाई पनि सो सामग्री उपलब्ध गराइएको छ ।
टेलिकमले सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत दुर्गमका सामुदायिक विद्यालयहरूलाई आईटी ल्याब विस्तार कार्यक्रमबाट सहयोग गरेको बताएको छ। गत वर्ष नै उपलब्ध गराउनुपर्ने ती सामग्री कोरोनाको कारण यस वर्ष उपलब्ध गराएको जनाइएको छ । गोरखापत्रबाट
प्रकाशित: १७ असार २०७८, बिहीबार