Technology Khabar १६ असार २०७८, बुधबार
काठमाडौं ।
सरकारका सबै निकायका वेबसाइटहरुमा अब एकरुपता ल्याउने भएको छ । हालै मन्त्रीपरिषदले नयाँ निर्देशिका पारित गर्दै सबै सरकारी निकायका वेबसाइटहरुमा एकरुपता ल्याउने भएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्त कुमार नेम्वाङले आज नियमित पत्रकार सम्मेलनमा सो निर्देशिका असार १४ गते बसेको मन्त्रिपरिषद बैठकले पास गरेको जानकारी दिए ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ,’ सञ्चार मन्त्री नेम्वाङले भने।
सो निर्देशिका लागूभएसँगै अब सबै सरकारी निकायका वेबसाइटहरु सोहि निर्देशिकाअनुसार बनाउनुपर्नेछ।
मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले सबै सरकारी निकायहरुका वेबसाइटलाई निर्देशिकाले समेट्ने जानकारी दिए।
‘यसले सरकारी वेबसाइटहरुको लागि एउटै मापदण्ड कायम गर्नेछ र एकरुपता ल्याउनेछ । जसमा गुणस्तर र साइबर सुरक्षा लगायत सबै समेटिएका छन्,’ उनले टेक्नोलोजीखबरसँग भने ।
यसका साथै उनले सो निर्देशिका केहि दिनमा मन्त्रालयमा प्राप्त भएपछि वेबसाइटमा राख्ने जानकारी दिए ।
प्रकाशित: १६ असार २०७८, बुधबार