
काठमाडौं ।
नेपालले साइबर सुरक्षाको क्षेत्रमा आफूलाई सुधार गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले सार्वजनिक गरेको ग्लोबल साइबर सेक्यूरिटी इन्डेक्स प्रतिवेदनअनुसार नेपालले साइबर सुरक्षाको क्षेत्रमा आफूलाई माथि उकास्न सफल भएको हो।
मंगलबार जेनेभामा सार्वजनिक ग्लोबल साइबर सेक्यूरिटी इन्डेक्स रिपोर्ट २०२० अनुसार नेपालले आफूलाई १०९ स्थानबाट उकालेर ९४ स्थानमा पुर्याएको छ । रिपोर्टकाअनुसार नेपालले ग्लोबल साइबर सेक्यूरिटीका विभिन्न क्षेत्रहरुमा कुल ४४.९९ अंक हासिल गरेको छ ।
नेपाल दुई वर्षमा नै साइबर सुरक्षाको क्षेत्रमा १५ स्थान माथि उक्लिएको हो । यसअघिको ग्लोबल साइबर सेक्यूरिटी रिपोर्ट २०१८मा नेपाल १०९ औं स्थानमा रहेको थियो जसमा नेपालले १ अंकमध्ये शुन्य दशमलब २६ अंक हासिल गरेको थियो ।
यस पटकको प्रतिवेदनमा भने १०० अंकलाई आधार मानिएको छ जहाँ नेपालले ४४.९९ अंक प्राप्त गरेको छ ।
नेपालले विश्व साइबर सुरक्षामा आफूलाई सुधार गर्दै जाँदा एशियाली मुलुकहरुमध्ये पनि माथि उक्लिएको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार एशिया प्याशिफिक देशहरुमध्ये नेपाल १७ औं स्थानमा रहँदै टप २० देशहरुमा समावेश भएको छ । एशिया प्याशिफिकका ३७ देशहरु ग्लोबल साइबर सेक्यूरिटी रिपोर्टमा समावेश भएका छन् ।
दक्षिण एशियाली मुलुकहरुको आधारमा हेर्दा भने नेपाल अफगानिस्ता र भुटान भन्दा मात्र माथि रहेको देखिन्छ । सो रिपोर्टमा दक्षिण एशियाली मुलुकहरुमध्ये भारत सबैभन्दा माथि छ भने त्यसपछि बंगलादेश पाकिस्तान र श्रीलंका छन् ।
छिमेकी देश भारत विश्वका प्रमुख १० साइबर सुरक्षा भएको देशहरुमध्ये परेको छ ।
ग्लोबल साइबर सेक्यूरिटी रिपोर्टको शिर्ष स्थानमा अमेरिका छ भने त्यसपछि बेलायत र साउदी अरेबिया टप थ्रीमा परेका छन् ।
ग्लोबल साइबर सेक्यूरिटी रिपोर्टले विश्वका १८२ देशहरुलाई समेटेको छ ।
इन्डेक्सले साइबर सुरक्षा धम्कीलाई सम्बोधन गर्न र घटाउन विश्वभरि बढ्दो प्रतिबद्धता देखाएको संघको भनाई छ।
‘कोभिड १९ को चुनौतीका बिच दैनिक क्रियाकलाप र सामाजिक-आर्थिक सेवाहरूको डिजिटल क्षेत्रमा डिजिटल रूपान्तरणको बाबजुद देशहरूले आफ्नो साइबर सुरक्षा सुधार गर्न काम गरिरहेका छन्, भर्खरै जारी गरिएको २०२० सूचकांकले पुष्टि गर्यो,’ संघले भनेको छ ।
रिपोर्टअनुसार लगभग आधा देशहरूले उनीहरूले राष्ट्रिय कम्प्युटर घटना प्रतिक्रिया टोली (सीआईआरटी) national computer incident response team (CIRT) गठन गरेको बताएका छन जुन २०१८ देखि ११ प्रतिशतले वृद्धि भएको संकेत गर्दछ। कोभिड १९ महामारीको बखत सूचना र सञ्चार प्रविधिको द्रुत स्वीकारोक्तीले साइबर सुरक्षालाई अग्रस्थानमा राखेको प्रतिवेदनमा औंल्याईएको छ।
नेपालको कुन क्षेत्रमा कति अंक ?

प्रतिवेदनअनुसार नेपालले सबैभन्दा धेरै सुधार कानूनी व्यवस्थामा गरेको देखिन्छ । जहाँ १५.६१ अंक हासिल गरेको छ । त्यसपछि क्षमता विकासमा नेपालले ९.६० अंक प्राप्त गरेको छ । त्यसैगरि संगठनात्मक मापदण्डहरुमा ९.५८ अंक तथा प्राविधिक मापदण्डहरुमा ५.९४ अंक हासिल गरेको छ । सबैभन्दा कमजोर नेपाल सहकार्य मापदण्डमा परेकोछ जहाँ नेपाल ४.२६ अंक मात्र हासिल गरेको देखिन्छ ।
प्रतिवेदनअनुसार नेपालको ससक्तता कानूनी अवस्थामा देखिएको र कमजोरी सहकार्यमा देखिएको उल्लेख छ ।
प्रत्येक ५ क्षेत्रका लागि संघले तयार पारेको प्रश्नावली र त्यसमा देशहरुले बुझाएको जानकारी र प्रमाणित कागतपत्रहरु तथा विज्ञहरुसँगको छलफलको आधारमा प्रतिवेदश तयार पारिएको संघले जनाएको छ ।
हेर्नुहोस् प्रतिवेदन-
Global Cybersecurity Index 2020प्रकाशित: १६ असार २०७८, बुधबार