
काठमाडौं ।
उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका क्षेत्रका सामुदायिक आधारभुत विद्यालयहरूलाई वैकल्पिक सिकाई सहजीकरणको लागि प्रविधि हस्तान्तरण गरेको छ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीलाई वैकल्पिक सिकाई सहजीकरणको लागि विद्यालयमा आधारित सामुदायिक अस्थायी सिकाई केन्द्रको अवधरणा अनुसार विद्यालयलाई प्रविधि हस्तान्तरण गरिएको हो ।
गाउँपालिकामा सिकाई केन्द्र विकास गर्दै फ्री वाईफाई जोनको अवधारणा ल्याइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा इन्टरनेटमा उपलब्ध हुने सामग्रीलगायत विभिन्न सिकाई सामग्री विद्यार्थीलाई वितरण गरी सिकाईमा अग्रसर गराउने अवधारणाका साथ प्रविधि हस्तान्तरण गरिएको ताप्ली गाउँपालिका शिक्षा शाखा प्रमुख सन्जु दाहालले बताए।
ताप्ली गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार गाउँपालिकाका विभिन्न नौवटा आधारभुत विद्यालयहरूलाई ल्यापटप, प्रिन्टर स्क्यानर मेसिन खरिद गरी उपलब्ध गराइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए।
शिक्षण सिकाईलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउने योजना अनुसार अगामी आर्थिक वर्षभित्र इन्टरनेट जडान गरी शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन लागिएकोले विद्यालयलाई ल्यापटप, प्रिन्टर र स्क्यानर वितरण गरिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए । गोरखापत्रबाट
प्रकाशित: १६ असार २०७८, बुधबार