भर्चुअल माध्यमबाटै पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने

Technology Khabar १५ असार २०७८, मंगलवार

काठमाडौं ।

महिला उद्यमी महासंघ नेपालले यही भाद्र १७ गते देखि २१ गते (तदनुसार सेप्टेम्बर २ देखि ६) सम्म ५ औँ अन्तर्रािष्ट्रय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहको
कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै यो मेला भर्चुअल माध्यमबाट हुने भएको छ ।

यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाहरुको पनि सहभागिता रहने जानकारी दिईयो ।

मेलाको उद्धेश्य नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वधन गर्ने रहेको छ । मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एसिया फाउन्डेशन (भिसा) आदि संस्थाहरुले सहयोग गर्दैछन्।

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुने  बताईएको छ।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाले महिला उद्यमीहरुको श्रम र श्रृजनालाई अगाडी ल्याएर राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पनि उनीहरुको पहिचान बनाउन सघाउ पुर्याउनुका साथै उनीहरुलाई अगाडी बढन प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले लिएको छ ।

मेलामा ३ सय भन्दा बढी भर्चुअल स्टल रहनेछन्। यसमा स्वदेशका महिला उद्यमी लगायत विभिन्न अन्य मुलुकका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुने आयोजक संस्थाले जनाएको छ।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया