९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्दै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्दै दूरसञ्चार प्राधिकरण
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

-अनुज राज

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी रिफार्म गर्ने भएको छ ।

प्राधिकरणले हाल मोबाइल सेवा प्रदायकहरुलाई उपलब्ध गराउँदै आएको ९०० मेगाहर्ज ब्याण्ड अन्तरगतको फ्रिक्वेन्सी रिफार्म गर्न लागेको हो ।

प्राधिकरणले यसको लागि समिति नै गठन गरेर अध्ययन गर्न सुरु गरिसकेको छ भने कम्पनीहरुसँग पनि छलफल गरेको छ ।

हाल ९०० मेगाहर्ज ब्याण्डमा सरकारी टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनसेल आजियाटा लिमिटेड र स्मार्ट टेलिकम प्रालीले आफ्नो मोबाइल सेवा सञ्चालन गरिरहेका छन् ।

यसका साथै सेवा सञ्चालन नै नगरेका यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल) र नेपाल स्याटेलाइट टेलिकम प्रालीले समेत सो ब्याण्डमा फ्रिक्वेन्सी ओगटेका छन् ।

९०० मेगाहर्ज ब्याण्डमा अधिकतम उपयोग गर्न पाउने सम्मको फ्रिक्वेन्सी लिईसकेका कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर सुधार गर्न समेत सो फ्रिक्वेन्सी रिफार्मले सहयोग गर्ने प्राधिकरणको भनाई छ ।

नियमनकारी निकायले ९०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी रिफार्म गरेर कम्पनीहरुलाई एउटै ब्लकमा दिने भएको हो।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फरक-फरक ब्लकमा रहेको देखिएको हुँदा फ्रिक्वेन्सी रिफार्म गर्न लागिएको जानकारी दिए ।

‘हामीले कम्पनीहरुलाई दिएको फ्रिक्वेन्सी अहिले फरक-फरक ब्लकमा बसेको छ। त्यसलाई एउटै ब्लक बनाउन फ्रिक्वेन्सी रिफार्म गर्नुपर्ने भएको हो,’ निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने, ‘यसले आगामी दिनमा कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर सुधार गर्न र ग्राहकहरुलाई समेत सहज हुने अपेक्षा गरेका छौं ।’

उनकाअनुसार यस बारेमा सबै कम्पनीहरुसँग एक चरण छलफल भएर सुझाब माग गरिएको छ। उनीहरुले सुझाब दिएसँगै समितिले कम्पनीहरुका लागि ९०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी रिफार्म गर्दै फ्रिक्वेन्सी एलोकेसनका लागि बोर्डमा सिफारिस गर्नेछ।

यसका साथै कम्पनीहरुले एउटै फ्रिक्वेन्सीमा २जी देखि ४जीसम्म चलाउनुपर्ने अवस्थामा आगामी दिनमा फाइभजी प्रविधिमा जाँदा पनि सहज हुनेगरि सिंगल ब्लकमा उपलब्ध गराउने गरी फ्रिक्वेन्सी रिफार्म गर्न लागिएको बताईएको छ ।

‘यसअघि ९०० मेगाहर्ज ब्याण्ड फोरजी र फाइभजीको लागि भनिएको थिएन् । तर अब प्रविधि तटस्थताअन्तरगत कम्पनीहरुले ५जी समेत चलाउन सक्ने हुँदा त्यसको सहि उपयोग गरिनु आवश्यक छ,’ उनले भने ।

फ्रिक्वेन्सी रिफार्म गरेर कम्पनीहरुलाई आफूले पाएको फ्रिक्वेन्सी ब्याण्डविथलाई निरन्तररुपमा प्रयोग गर्नेगरि व्यवस्था गरेर अधिक उपयोग गर्न सकिने स्थापितको भनाई छ।

यसले कम्पनीहरुले उपलब्ध गराईरहेको अहिलेको फोरजी सेवाको गुणस्तरमा समेत सुधार हुने प्राधिकरणको अपेक्षा छ।

हाल कम्पनीहरुले ९०० मेगाहर्ज ब्याण्डमा फरक-फरक रेन्जमा फ्रिक्वेन्सी प्रयोग गर्दै आएका छन् ।

नेपाल टेलिकम र एनसेलले ९.६ मेगाहर्ज प्रयोग गरिरहेका छन् भने स्मार्ट टेलिकमले ५ मेगाहर्ज प्रयोग गरिरहेको छ । त्यसैगरि यूटिएलले ५  मेगाहर्ज तथा नेपाल स्याटेलाइटले ४.४ मेगाहर्ज ओगटेको छ । तर ती कम्पनीहरुका फ्रिक्वेन्सी रेन्ज भने फरक फरक स्थानमा रहेका छन् । यी सबै पेयर्ड फ्रिक्वेन्सी हुन् ।

यसमध्ये एनसेलले गएको बैशाखमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको प्रविधि तटस्थता गर्ने निर्णय अन्तरगत ९०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज फ्रिक्वेन्सी पाएको थियो।

सम्बन्धित-

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

उनीहरुलाई प्राधिकरणले विभिन्न समयमा दिएको हुँदा सोहीअनुसार फरक फरक एलोटमेन्ट हुने र रेन्ज फरक हुने गर्दछ ।

प्राधिकरणको तथ्याङ्कअनुसार हाल ९०० मेगाहर्ज ब्याण्डमा ८८० देखि ९१५ का साथमा पेयर्ड हुने गरि ९२५ देखि ९६० मेगाहर्ज मोबाइल सेवा प्रदायक कम्पनीहरुका लागि खुला गरिएको छ।

यसअघि प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डमा पनि फ्रिक्वेन्सी रिफार्म गरेको थियो। त्यसबेला पनि कम्पनीहरुले लिएको फ्रिक्वेन्सी ब्लक फरक-फरक भएको भन्दै त्यसलाई एउटै ब्लक बनाउन फ्रिक्वेन्सी रिफार्म गरिएको थियो।

यो पनि हेर्नुहोस् –

अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार