काठमाडौं ।
डडेल्धुराको भित्री मधेश क्षेत्र रहेको परशुराम नगरपालिकाका विभिन्न गाँउका स्थानीय वासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेका छन् ।
डडेल्धुराका ती गाँउहरूमा सामान्य मोबाइल फोन गर्न पनि नेटवर्क नभएको परशुराम नगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर महराले बताए । परशुराम–११ का एकलेगडा, पातल, सिमलवण्डा, सलेता, पलगडीलगायतका दर्जनभन्दा बढी गाउँमा सञ्चारको पहुँच नभएको वडा अध्यक्ष महराले बताए ।
टेलिफोन सेवा प्रदान गर्ने भन्दै नेपाल टेलिकमको टावर निर्माण भएको दुई वर्षभन्दा बढी हुँदा समेत लाइन नदिएका कारण स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहनुपरेको बताइएको छ ।
अधिकांश स्थानीय तहका गाउँमा सञ्चार सुविधा पुगे पनि डडेलधुराको आधा जनसङ्ख्या रहेको भित्री मधेशका जनताले भने हालसम्म नेपाल टेलिकमको सञ्चार सेवाबाट वञ्चित हुनुपरेको परशुराम नगरपालिका–११ का स्थानीय लक्ष्मणदत्त भट्टले बताए ।
‘सो क्षेत्रमा एनसेलको मात्रै पहुँच छ । तर, नेपाल टेलिकमको छैन । टेलिकमको टावर निर्माण भएको दुई वर्ष हुँदा समेत लाइन छोडिएको छैन,’ वडा सदस्य प्रताप महराले भने ।
विद्युतले ढिलो गरेको र ट्रान्सफर्मर’ नहुँदा लाइन छोड्न नसकेको नेपाल टेलिकमका इन्जिनियर मोहन जोशीले बताए । ‘अहिले विद्युत्ले ट्रान्सफर्मर’ उपलब्ध गराइदिने कुरा गरेको छ । अब एक महिनाभित्र लाइन जोडिन्छ,’ जोशीले भने ।
अहिले विद्यार्थीको पढाइ अनलाइनबाट भइरहँदा यहाँका विद्यार्थी टेलिकमको सेवा नहुँदा पढाइबाट वञ्चित रहेको शिक्षक गणेश भाट बताउँछन् ।
टेलिफोन टावर बने पनि लाइन नहुँदा विद्यार्थीदेखि स्थानीय सबैलाई समस्या भएकाले तत्काल लाइन छोड्न स्थानीयले आग्रह गरेको बताइएको छ । गोरखापत्र दैनिकबाट
प्रकाशित: १५ असार २०७८, मंगलवार