राउटरको माग अझै बढ्दो, जेठ महिनामा मात्रै ८२ हजार थानभन्दा बढी आयात

  • Technology Khabar | १४ असार २०७८, सोमबार

काठमाडौं ।

नेपालमा पछिल्लो जेठ महिनामा २४ करोड ५० लाख ९५ हजार रुपैयाँको राउटर आयात गरिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार २०७८ साल जेठ महिनाभरीमा नेपालमा ८२ हजार २४२ ओटा राउटर भित्रिएका छन्।

वैशाख महिनामा पनि नेपाल ३४ हजार ९४ ओटा राउटर भित्रिएका थिए जसको मूल्य ११ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको थियो।

चैत्र २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्म ६ लाख ६ हजार ९१५ राउटर आयात भएकामा २०७८ जेठ महिनामा भने ८२ हजार २४२ थपिएर ६ लाख ९७ हजार ७९२ ओटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये सबैभन्दा बढी चीनबाट २४ करोड ३८ लाख ८८ हजार रुपैयाँ बराबरको ८१ हजार २२१ वटा राउटर आयात भएका छन्।

यसपछि लात्भिया, भारत, अमेरिका, जर्मनी, बेलायत, यूएई लगायत अन्य विभिन्न राष्ट्रबाट १ देखि १७ ओटासम्म राउटर आयात भएका प्रतिवेदनमा उल्लेख छ।

कोरोनाका कारण वर्क फ्रम होम र अनलाईन कक्षाहरुका लागि इन्टरनेटको खपत बढ्दै जाँदा वायर्ड र वायरलेस दुवै कनेक्टिभिटीका लागि अत्यावश्यक हुने भएकाले राउटरको माग महिनैपिच्छे बढ्दै गइरहेको देखिन्छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेट सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ ।

गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेका छन् भने अहिले पनि कोरोनाको दोेस्रो लहरका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया