दुई महिनामा भित्रिए १४ करोड रुपैयाँभन्दा बढीका बीटीएस उपकरण, चीनबाट सर्वाधिक

  • Technology Khabar | १४ असार २०७८, सोमबार
दुई महिनामा भित्रिए १४ करोड रुपैयाँभन्दा बढीका बीटीएस उपकरण, चीनबाट सर्वाधिक

काठमाडौं ।

नेपालमा पछिल्लो २ महिना अर्थात् २०७८ वेशाख र जेठभित्रमा ७५ हजार ५६६ वटा बीटीएस (बेस स्टेशन) तथा त्यसमा प्रयोग हुने उपकरणहरु आयात भएका छन्। यो सङ्ख्या यो आर्थिक वर्षको शुरुका ९ महिनाभरमा भएको आयातको हाराहारी रहेको छ।

नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि २०७८ जेठ मसान्तसम्मको प्रतिवेदन अनुसार यी ११ महिनामा जम्मा १, ५२, ६२१ ओटा यस्ता उपकरण आयात भएको देखिन्छ। जसमध्ये शुरुको नाै महिना अर्थात् २०७७ चैत मसान्तसम्म ७७, ०५५ ओटा आयात भएका थिए।

आयात भएकामध्ये चीनबाट शुरुको ९ महिनामा १५ करोड ७२ लाख ६८ हजार रुपैयाँ बराबरको ७७ हजार २२ ओटा तथा पछिल्ला २ महिनामा १३ करोड ४२  लाख ५२ हजार रुपैयाँ बराबरको ७५ हजार ५५८ ओटा बीटीएस टावर तथा त्यसमा प्रयोग हुने उपकरण आयात गरिएका हुन्।

यीबाहेक भारत,  हङकङ, जर्मनी र ताइवान अमेरिकाबाट फुटकर रुपमा बीटीएस उपकरण आयात भएको देखिएको छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्षकोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले दूरसञ्चार सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।

नेपालमा दूरसञ्चारका क्षेत्रमा ह्वावेजस्ता चिनियाँ कम्पनीका पूर्वाधारहरु धेरै प्रयोग हुने भएकाले पनि चीनबाट यस्ता उपकरण बढीभन्दा बढी आयात भएको आकलन गर्न सकिन्छ।

हाल विद्यालयहरु बन्द हुँदा र अधिकांशले अनलाइन कक्षा नै लिने गरेको सन्दर्भ तथा घरभित्रै मानिसहरु धेरै समय बसिरहँदा दूरसञ्चार सेवाको प्रयोग समेत बढ्ने अपेक्षा गरिएको छ।

त्यसैगरि देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु ससक्त भएर लागिरहेको बेलामा बीटीएस टावरको आयातमा वृद्धि भएको देखिएको छ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार