टेलिग्राममा ग्रुप भिडियो कल र एनिमेटेड ब्याकग्राउन्ड थपियो

  • Technology Khabar | १४ असार २०७८, सोमबार

काठमाडौं ।

टेलिग्रामले आफ्नो मेसेजिङ प्लेटफर्ममा दुई ओटा महत्वपूर्ण अपडेट घोषणा गरेको छ। यीमध्ये एउटा भिडियो कलिङमा अपग्रेड रहेको छ भने अर्को यूआई तथा डिजाइनसँग सम्बन्धित छ।

यसको भिडियो कलिङ फिचरमा आउँदै गरेका केही अपडेट डब्लूडब्लूडीसी २०२१ का बेला एप्पलले ल्याएको फेसटाइम फिचरको अपडेटबाट प्रभावित रहेका छन्।

यी अपडेटपछि अब टेलिग्रामले ग्रुप भिडियो कल सपोर्ट गर्ने भएको छ। यसका लागि शुरुमा ग्रुप भ्वाइस कल गरेर त्यसपछि क्यामरा आइकन थिचेपछि यो आफैं भिडियो कलमा परिणत हुन्छ।

तर भ्वाइसकलमा सहभागीको कुनै सीमा तोकिएको छैन भने भीडियो कलमा भने तत्कालका लागि बढीमा ३० जनामात्र एक पटकमा सहभागी हुन पाउनेछन्।

यसबाहेक भिडियो कलमा क्यामरा फीड मात्र नभइ जूम तथा माइक्रोसफ्ट टिम्सजस्ता मिटिङ एपमा झै यसमा स्क्रीन पनि शेयर गर्न मिल्छ।

भिडियो कल गर्दा स्मार्टफोन र ट्याब्लेटमा सबै डिस्प्ले शेयर हुन्छ भने डेस्कटपमा पुरै स्क्रीन वा कुनै निश्चित विन्डोमात्र शेयर गर्ने विकल्प हुन्छ।

भ्वाइस च्याटका लागि टेलिग्रामले न्वाइज सस्पेन्सन फिचर पनि थपेको छ जस अनुसार बाहिरी आवाज नजाने र यूजरले बोलेको आवाज मात्र जाने बनाउन सकिन्छ। तर यो फिचरलाई अन वा अफ गर्ने विकल्प भने रहनेछ।

यसबाहेक आईमेसेजमा जस्तै मेसेजमा नयाँ एनिमेटेड टेक्स्ट, इमोजी तथा स्टिकरहरु उपलब्ध गराइएका छन्। साथै आईओएसमा दुई ओटा नयाँ एप आइकन, लगिन जानकारीको रिमाइन्डर, ब्राउजरका लागि बट मेन्यु तथा अन्य एनिमेटेड इमोजीहरु पनि थपिएका छन्।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया