Technology Khabar १३ असार २०७८, आईतवार
काठमाडौं ।
केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उनले खाली समयमा सामाजिक सञ्जाल हेरिन् ।
युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उनले बताईन्।
चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुन्। युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उनको अनुभव छ।
उनको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०/६० वटासम्म यस्ता घटना आइरहेको उनले बताईन्। उनले भनिन्, “नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।”
सामाजिक सञ्जालले नै कहिले आत्महत्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र हत्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र हत्या भइरहेको छ । उनले भनिन्, “यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ।”
युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दुरुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताईन् । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक/दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन्।
केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दुव्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उनले बताईन् । उनले भनिन्, “युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।”
महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिईरहेको बताईन्। कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, “यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।”
विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताईन् । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताईन् ।
चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पुर्याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताए। अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउँछिन् । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र हत्या भइरहेको उनले औँल्याईन्।
नेपाल दूरसञ्चार प्राधिकरका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताए । आम नागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उनले जोड दिए।
उनले भने, “विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।”
सञ्चारिका समूह र नेपाल टेलिकमले आयोजना गरेको ‘युट्युबमा प्रशारित विषयवस्तु र लैङ्गिकताको सवाल’ विषयको भर्चुअल छलफल कार्यक्रममा सरोकार राख्ने निकायका प्रतिनिधिहरुले युट्युबलगायतका समाजिक सञ्जालको नियमनमा जोड दिएका थिए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालकी पूर्वसदस्य सङ्गीता खड्का र पत्रकार बिष्टले कार्यपत्र प्रस्तुत गरेकी थिईन्।
प्रकाशित: १३ असार २०७८, आईतवार