अनलाइन शिक्षाले आँखामा समस्या

  • Technology Khabar | १२ असार २०७८, शनिबार
अनलाइन शिक्षाले आँखामा समस्या

काठमाडौं ।

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए। उनले भने, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।”

विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ।

उनले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिए।

बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ। चिकित्सक डा. भट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ।

उनले सुझाव दिए, “२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।” मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उनको भनाइ छ।

अहिले धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेकाले आगामी दिनमा मायोपियाको समस्या झनै बढ्ने सम्भावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्च्याएर हेर्ने, टाउको दुःख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुन्छ।

बाल आँखा विशेषज्ञ प्रा. डा. सविना श्रेष्ठले बालबालिकाको आँखालाई हरेक छ महिनादेखि एक वर्षभित्र जचाइराख्नुपर्ने सुझाव दिए । घरभित्रै अनेकथरिका ग्याजेटमा समय बिताउन बाध्य हुँदा आँखामा दबाब पर्न सक्ने बताउँदै उनले सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी देखिएको बताए ।

अहिलेको अवस्थामा अनलाइन कक्षा नलिनू भन्न नमिल्ने बताउँदै डा. श्रेष्ठले थपे, “अनलाइन कक्षा नलिँदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ। त्यसैले कक्षा हुँदा कम्प्युटरमा बसे पनि त्यसपछिको समयमा विद्यार्थीलाई स्क्रिनबाट टाढा राख्नुपर्छ।” गोरखापत्रबाट

प्रकाशित: १२ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...