शाओमीको एमआई १० अल्ट्राको विवरण लीक गर्ने ब्लगरलाई १ करोड ८३ लाख रुपैयाँ जरिबाना

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
शाओमीको एमआई १० अल्ट्राको विवरण लीक गर्ने ब्लगरलाई १ करोड ८३ लाख रुपैयाँ जरिबाना

काठमाडौं ।

कुनै पनि स्मार्टफोन वा डिभाइस सार्वजनिक हुनुअघि केही विवरण र फोटोहरु लीक हुनु सामान्यजस्तै भइसकेको छ। तर शाओमीको एमआई १० अल्ट्राको भने सार्वजनिक हुनु अघि नै सम्पूर्ण डिभाइसको अनबक्सिङ गरिएको भिडियो बाहिरिएको थियो।

यो भिडियो @Beautiful科技官微 ले सामाजिक सञ्जालमा वेबोमा पोस्ट गरेका थिए।

हालै उनले गत वर्षको अगस्त ११ तारिखमा भएको उक्त लीक गल्तीका कारण भएको भन्दै शाओमीसमक्ष लिखितरुपमा क्षमा मागेको गीगचाइनाले उल्लेख गरेको छ।

उनले यो भिडियो पोस्ट आफूले शाओमीसँग गरेको गोपनीयता सम्झौताको उल्लंघन भएको पनि क्षमायाचना पत्रमा स्विकारेका छन्।

उक्त पत्रमा प्रसारण संस्थाका प्रमुख गु शुयाङले भनेका छन्, ‘यो मुद्दा चाइना इन्टरनेशनल इकोनोमिक एन्ड ट्रेड आर्बिट्रेशन कमिशनले हेरिरहेको छ र मेरो उक्त गतिविधिले शाओमीसँगको गोपनीयता सम्झोता उल्लंघन गरेर गम्भीर परिणाम ल्याएको निर्क्योल निकालिएको छ। शाओमीलबई क्षतिपूर्ति दिइनुपर्छ। म यो आरोप निर्णय स्विकार गर्छु। यसैबाहेक मेरो गतिविधिले शाओमीसँग भएको गोपनीयता सम्झोता उल्लंघन गरेकाले म लेई जुन, शाओमीका कर्मचारी तथा फ्यानहरुमा म प्रतिको विश्वासका लागि धन्यवाद दिँदै हृदयदेखि नै क्षमा याचना गर्दछु।’

उक्त क्षमायाचना पत्रका अनुसार उक्त ब्लगरले शाओमीलाई १० लाख युआन अर्थात् १ लाख ५५ हजार डलर तिर्नुपर्ने देखिन्छ।

नेपालीमा १ करोड ८३ लाख रुपैयाँ हाराहारी हुन आउने यो रकम ३० दिन भित्र तिरिसक्नुपर्ने र शाओमीका नाममा सार्वजनिक माफी पनि प्रकाशन गर्नुपर्नेछ।

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार