काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा मन्त्री बसन्तकुमार नेम्वाङले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेम्वाङलाई सञ्चार मन्त्रालयको जिम्मा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयहरुको कार्यभार तथा जिम्मेवारी हेरफेर गरेकी हुन्।
मन्त्री नेम्वाङलाई सञ्चार तथा सूचना प्रविधि सहित कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।
उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरिएको थियो । तर सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पदमुक्त गरिदिएपछि उनको पद १३ दिनमा नै गुमेको थियो।
यो पनि हेर्नुस्-
अदालतको आदेशसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री थापाको पद गुम्यो
प्रकाशित: १० असार २०७८, बिहीबार