काठमाडौं ।
सोनीले आफ्नो एक्सपेरिया वन३ स्मार्टफोनको घोषणा गरेको लगभग दुई महिना भयो। कम्पनीले उक्त डिभाइस यही ग्रीष्म ऋतुको शुरुवाततिर उपलब्ध गराउने पनि बताएको थियो।
सोनीको अमेरिका विभागले उक्त फोनलाई हालै प्रि अर्डरका लागि सूचीकृत गरेको छ र यो सुविधा आगामी जुलाई १ बाट शुरु हुने पनि जनाएको छ। कम्पनीले यसको मूल्य रुस र चीनलगायत विश्वव्यापी रुपमा १ हजार ३०० डलर तोकेको छ।
एक्सपेरिया वन३ १२० हर्ज रिफ्रेश रेट सहितको फोरके ओएलईडी डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो। यसमा थुप्रै फोकल लेन्थ भएका टेलिफोटो लेन्स तथा तीनवटै १२ मेगापिक्सेलको क्यामारा टी कोटिङ भएको जाइस लेन्स रहेको छ भने यसले १२० फ्रेम प्रति सेकेन्डमा फोरके भिडियो खिच्न सक्छ।
यो डिभाइसमा क्वालकमको हालसम्मको अत्याधुनिक स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ भने १२ जीबीको र्याम तथा ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ। यसको र्याम एलपीडीडीआर५ तथा आन्तरिक स्टोरेज यूएफएस ३.१ प्रकारका रहेका छन्।
सोनीको अमेरिका कार्यालयले बीएण्डएच तथा अन्य खुद्रा व्यपारीमार्फत् एक्सपेरिया वन३ प्रि अर्डर गर्न सकिने बताएको छ भने यसलाई ग्राहककोमा डेलिभरी गर्ने मितिका बारेमा भने केही उल्लेख गरेको छैन।
प्रकाशित: १० असार २०७८, बिहीबार