Technology Khabar ८ असार २०७८, मंगलवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाको पद गुमेको छ । आज सर्वोच्च अदालतले पछिल्लो समयमा नियुक्त भएका मन्त्रीहरु पदमुक्त हुने आदेश दिएसँगै उनीसहित समेत २० मन्त्रीहरुको पद गएको छ ।
अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । काचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । सो आदेशमा ती मन्त्रीहरुलाई पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनि उल्लेख रहेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्धामा सुनुवाई गर्दै सो आदेश दिएको हो ।
सो आदेशसँगै सञ्चार मन्त्री थापाको समेत मन्त्री पद गएको हो । जेठ २७ गते मन्त्री पदमा नियुक्त उनी १३ दिन सञ्चार मन्त्रीको रुपमा कार्यरत रहिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए जसमा मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि रामबहादुर थापाकी श्रीमती नैनकला थापासहितलाई लिएर जेठ २७ गते पुनः मन्त्रिमण्डल विस्तार गरिएको थियो ।
सरकारमा अब प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।
प्रकाशित: ८ असार २०७८, मंगलवार