
काठमाडौं ।
एप्पलले आफ्नो सबैभन्दा कम रुचाइएको आईफोन १२ मिनीको उत्पादन आधिकारिक रुपमा बन्द गरेको छ।
यो डिभाइस हालसम्म आएका आईफोनमध्ये कम रुचाइएको तथा कम बिक्री भएकोले कम्पनीले केही समयअघिदेखि नै यसलाई बन्द गर्ने बताउँदै आएको थियो।
हालै ट्रेन्डफोर्समा आएको एक रिपोर्ट अनुसार आईफोन १२ मिनी उत्पादन नहुने भएको हो। यो डिभाइस एप्पलको वेबसाइटमा भने अझै बिक्रीका लागि उपलब्ध छ भने स्टक नसकिउन्जेल यो जारी रहने तर नयाँ उत्पादन भने नगरिने बुझिएको छ।
आईफोन १२ मिनी आईफोन १२ सिरिजकै सबैभन्दा सस्तो फोन थियो जसको शुरुवाती मूल्य ६९९ डलर तोकिएको थियो। यसबाहेक यो बजारमा उपलब्ध फाइभजी फोनमध्ये सबैभन्दा सानो र पातलो पनि रहेको थियो।
तर यसले आईफोन १२ को समग्र बिक्रीमा ५ प्रतिशतभन्दा बढी योगदान दिन सकेन। यसै कारण पनि कम्पनीले यसलाई निरन्तरता नदिने भएको हो।
प्रकाशित: ८ असार २०७८, मंगलवार