
काठमाडौं ।
केही दिनअघि वनप्लसका सीईओ पेट लाउले आफ्ना डिभाइसहरुमा छिटो र भरपर्दो सफ्टवयर अपडेट गरी अझ प्रभावकारी बनाउन ओपोसँग एकिकृत हुने कम्पनीको निर्णय सार्वजनिक गरेका थिए।
तर त्यति नै बेला उनले आफ्नो ब्रान्ड भने स्वतन्त्र नै रहने बताएका थिए। त्यसै सम्बन्धमा कम्पनीका स्मार्टफोनहरुमा प्रयोग गरिने कस्टम एन्ड्रोइड स्किनका बारेमा भने थुप्रै तथ्यहरु प्रस्ट हुन सकेका छैनन्।
हालसम्म वनप्लसको विश्वव्यापी भर्सनमा अक्सिजनओएस चिपसेट रहेका छन् भने चिनियाँ भर्सनमा हालै ओपोको कलरओएस प्रयोग गर्नुअघि हाइड्रोजनओएस प्रयोग गरिँदै आएको थियो।
यसै हिसाबले अब अक्सिजनओएसलाई पनि ओपोको कलरओएसले विस्थापित गर्ने हो कि भन्ने चर्चा चल्न थालेको छ।
यसमा लउले वनप्लसका विश्वव्यापी डिभाइसमा अक्सिजनओएस रहने बताएका छन्। यसमा कुनै सञ्चारमाध्यम तथा प्रयोगकर्ताहरुको सुझाव भने लिइएको छैन।

हालै इभान ब्लासले लीक गरेको कम्पनीको एउटा आन्तरिक पत्रमा वनप्लसले आफ्ना कर्मचारीलाई ओएस तथा कलरओएसका बारेमा सोधिका प्रश्नको जवाफ नदिन आदेश दिइएको छ। उक्त पत्रमा जवाफ दिनै परेमा एउटा बनिबानाउ उत्तर पनि समावेश गरिएको छ, जुन यस प्रकार छ: ‘हामीलाई सफ्टवयर अपडेटका बारेमा अहिले कुनै जानकारी छैन। यसका लागि हाम्रो आधिकारिक च्यानल हेर्दै गर्नुहोला।’
प्रकाशित: ६ असार २०७८, आईतवार