
काठमाडौं ।
फास्ट चार्जिङ क्षमताको एउटै मानक नभएका कारण समस्या आउने देखेर चीनका सबै स्मार्टफोन कम्पनीहरु एउटै मापदण्ड पालना गर्ने तयारीमा लागेका छन्।
हालै चीनका थुप्रै कम्पनीहरुले फास्ट चार्जिङको एउटै मापदण्ड बनाउन लागिपरेपछि यसले विभिन्न क्षमताका डिभाइसका लागि अलग अलग प्रकारका फास्ट चार्जरका लागि लाग्ने समग्र खर्च भने उल्लेख्य मात्रामा घट्ने भएको छ।
साथै कम्पनीहरुले विद्युतीय फोहरमा उल्लेख्य कटोती गर्ने र नवीकरणीय उर्जा स्रोतको विकास गर्ने पनि जनाएका छन्।
यो अभियानमा ह्वावे, अनर, ओपो, भिभो, शाओमी, रकचिप जस्ता ठूला स्मार्टफोन कम्पनी तथा चाइना एकेडेमी अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी नामक संस्थाले हातेमालो गर्न लागेका छन्।
यो सूचीमा वनप्लस, आईकू, रियलमी तथा रेडमीजस्ता ब्रान्डहरु पनि स्वत: अटाउनेछन्।
फास्ट चार्जिङको यो मापदण्ड कहिले तयार भइसक्छ भन्ने यकिन भएको छैन। यो विभिन्न कम्पनीहरुले यो मापदण्डलाई प्रबर्द्धन गर्न देखाउने रुचीमा भर पर्नेछ।
सबैका आ आफ्ना लगानी र विकास भएको र तिनीहरुले आफ्ना डिभाइस बेच्न यी कुराहरुलाई पनि बजारीकरणको मुख्य साधन बनाउने गरेकाले सबैको रुची एउटै मापदण्डमा बराबर नहुन सक्ने आकलन पनि गरिएको छ।
प्रकाशित: ५ असार २०७८, शनिबार