Technology Khabar १ असार २०७८, मंगलवार
काठमाडौं ।
कर्णाली प्रदेशले डिजिटल कर्णाली प्रदेशको अवधारणालाई अगाडि बढाउने गरि बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिने सेवाहरुलाई प्रविधिमैत्री बनाउन डिजिटल कर्णाली गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईने घोषणा गरेका छन् । त्यसैगरी सरकारी काम कारबाहीलाई क्रमशः कागजबिहिन बनाउँदै लगिने बजेटमा उल्लेख छ ।
त्यसैगरि सार्वजनिक प्रशासनमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिन विद्युतीय सुशासन गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईने बजेटमा उल्लेख छ । स्वचालित कार्यप्रणाली अबलम्बन गरी क्रमशः अनललाइन माध्यमबाट सेवा प्रदान गर्न आवश्यक पूर्वाधार तयार गरिने कर्णाली प्रदेशको बजेटमा घोषणा गरिएको छ ।
यसका साथै प्रदेशले सरकारका निकायहरुबाट हुने खरिद वस्तु तथा सेवाहरुलाई पारदर्शी गर्दै प्रदेश अनुकुल बनाउन सेवा प्रदायकले प्रस्ताव गर्ने दररेटलाई विद्युतीय पोर्टलमा प्रविष्टि गर्ने सूचना व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याईने घोषणा गरिएको छ ।
आगामी आवमा प्रदेश सरकारले बेरुजु रकमलाई विद्युतीय लगत राख्न आवश्यक सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।
यस बाहेक कर्णाली प्रदेशले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा समेत सूचना प्रविधिको प्रयोग गर्ने बताएको छ ।
karnaliप्रकाशित: १ असार २०७८, मंगलवार