
काठमाडौं ।
आजदेखि प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै अनलाइन तथा टेक अवे होम डेलिभरी सेवा समेत सुचारु भएको छ । काठमाडौं उपत्यकाभित्र बिहानदेखि बेलुका ७ बजेभित्र अनलाइन सेवा र टेक अवे होम डेलिभरी सेवालाई खुला गरेसँगै त्यसको लागि कम्पनीहरुले सेवा शुचारु गरेका छन् ।
नेपाल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका अध्यक्ष तथा किराना डटकमका संचालक सागरदेव भट्टले आजदेखि सवै अनलाइन तथा होम डेलिभरी सेवा सहजरुपमा शुरु भएको र यसमा हालसम्म कुनै त्यस्तो अवरोध नगरिएको टेक्नोलोजीखबरलाई जानकारी दिए ।
‘आजदेखि सेवा शुरु गरेका छौं हामीलाई अहिलेसम्म कुनै अवरोध र समस्या भएको जानकारी आएको छैन् । सहज नै छ भन्नुपर्यो,’ उनले भने ।
त्यसैगरि अनलाइन फुड डेलिभरी गर्दै आएको फुडमाण्डुले पनि आफ्नो सेवा शुरु भएको जानकारी दिएको छ । कम्पनीका ब्राण्ड सेल्स एण्ड मार्केटिङ्ग हेड श्याम मालीले फ्रेश ग्रोशरीको समेत सेवा शुरु गरेको जानकारी दिए ।
‘हामीले फ्रेश ग्रोशरीसहित अनलाइन फुड डेलिभरीको सेवा शुरु गरिसकेका छौं । अहिलेसम्म कुनै समस्या आएको छैन्,’ मालीले टेक्नोलोजीखबरसँग भने ।
अर्कोतर्फ ताजा तरकारी तथा फलफुलहरु अनलाइनमार्फत उपलब्ध गराउँदै आएको ग्रीन ग्रोथका सञ्चालक सौरभ ढकालले सेवामा अवरोध गरिएको बताए ।
‘हामीलाई फ्रेश ग्रोशरी तथा ताजा फलफुल समेत ढुवानीमा अवरोध गरिएको छ र ११ बजेसम्म मात्र गर्न भनिएको छ । हामीले अनलाइनमार्फत तरकारी तथा फलफुल होम डेलिभरी गर्ने गरेका छौं । तर अनलाइन सेवालाई प्रस्ट नपार्दा समस्या भयो,’ उनले टेक्नोलोजीखबरसँग भने ।
उनले ताजा तरकारी र फलफुलहरु अनलाइनमार्फत होम डेलिभरी गर्नेलाई समेत सहजरुपमा काम गर्न दिनुपर्ने माग गरे ।
माग पुरानै अवस्थामा
अनलाइन सेवा र होम डेलिभरी सेवा खुला गरेसँगै ग्राहकहरुले समेत सेवाको बारेमा चासाे राख्नेक्रम बढेको बताईएको छ ।
संघका अध्यक्ष तथा किराना डटकमका सिईओ भट्टकाअनुसार निषेधाज्ञा हुनुभन्दा अगाडीकै अवस्थामा ग्राहक माग आएको बताए ।
‘अहिलेसम्म मागमा कमी आएको छैन् । लकडाउन भन्दा अगाडीको जस्तै ग्राहकहरुले सेवा तथा सामग्रीहरुको डिमाण्ड गरिरहनुभएको छ । र हामी पुरा गर्ने प्रयासमा छौं,’ उनले भने ।
ग्राहकको मागअनुसार बजार अब सुधारको क्रम जाने उनको भनाई थियो ।
त्यसैगरि फुडमाण्डुका ब्राण्ड सेल्स एण्ड मार्केटिङ्ग हेड मालीले पनि ग्राहकहरुको मागमा कमी नभएको बताए ।
‘हामीलाई लकडाउनको बिचमा कहिले सेवा शुरु हुन्छ भनेर धेरै कलहरु आईरहेका थिए र त्यसैले पनि हामी आशावादी थियौं । मागमा कुनै कमी आएको छैन्,’ उनले टेक्नोलोजीखबरसँग भने, ‘तर आज पानी परिरहेको हुँदा त्यसले केहि अवरोध पार्छ कि भन्ने चिन्ता छ ।’
मालीकाअनुसार ग्राहकहरु १ महिना भन्दा बढि समयदेखि रेष्टुरेन्टमा जान नपाएको र घरभित्रै बस्न बाध्य भएको हुँदा स्वाद फेर्नका लागि समेत अर्डर गरिरहेका छन् । यसले अनलाइन फुड डेलिभरी सेवाको बजारलाई दिगो बनाउने उनको धारणा थियो ।
प्रकाशित: १ असार २०७८, मंगलवार