
काठमाडौं ।
केही समययता चिप अभावका कारण सामसङले आउँदै गरेको ग्यालेक्सी एस२१ एफईको व्यापक उत्पादन रोकेको भन्ने चर्चा सञ्चारमाध्यममा व्याप्त भएको थियो।
तर सामसङले भने उक्त चर्चाको जवाफ दिँदै ग्यालेक्सी एस२१ एफईको उत्पादन रोक्नेबारे कुनै निर्णय नभइसकेको बताएको छ।
ब्लूमबर्गलाई पठाएको एक विज्ञप्तिमा कम्पनीले भनेको छ, ‘हामीले सार्वजनिक भइनसकेको उत्पादनका बारेमा छलफल गर्न नमिल्ने भए पनि यसको उत्पादन रोक्नेबारेमा केही निर्णय भइसकेको छैन।’
सामसङले यो उत्पादन बन्द गर्न लागेको खबर पहिलोपल्ट कोरियाको एउटा ब्लग ईटीन्यूजमा आको थियो जसमा सेमिकन्डक्टर चिप अभाव नै मुख्य कारण देखाइएको थियो।
उक्त रिपोर्टमा ग्यालेक्सी एस२१ एफईका लागि भनेर छुट्याइएका क्वालकमका प्रोसेसरहरु आगामी अगस्टमा सार्वजनिक हुने फोल्डेबल फोनमा प्रयोग गरिने पनि बताइएको थियो। हाल सामसङको जवाफपछि उक्त रिपोर्ट भने हटाइएको छ।
ग्यालेक्सी एस२१ एफई भ्यानिला ग्यालेक्सी एस२१ को केही हलुका भर्सन रहेको बुझिएको छ। यो गत वर्ष रिलिज भएको एस२० एफई जस्तै हुने आकलन गरिएको छ। एफई भन्नाले फ्यान एडिशन भन्ने बुझाउँछ जसमा प्रिमियम भेरियन्टमा रहेका धेरैजसो फिचर राखे सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
प्रकाशित: १ असार २०७८, मंगलवार