उदयपुर सिमेण्ट उद्योगको आफ्नै वेबसाइट सञ्चालन, इन्टरप्राइजेज रिसोर्सेज प्लानिङ्ग सिस्टम प्रयोगमा

  • Technology Khabar | ३१ जेष्ठ २०७८, सोमबार
उदयपुर सिमेण्ट उद्योगको आफ्नै वेबसाइट सञ्चालन, इन्टरप्राइजेज रिसोर्सेज प्लानिङ्ग सिस्टम प्रयोगमा

काठमाडौं ।

उदयपुर सिमेण्ट उद्योग लिमिटेडले आफ्नो कम्पनीको बारेमा सर्वसाधारण तथा सरोकारवालाहरुलाई जानकारी दिन यस उद्योगले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएको छ । कम्पनीले यूसीआईएल डट ओआरजी डटएनपी (ucil.org.np) सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अध्यक्ष बलराम रिज्यालले कम्पनीको ३३ औं साधारणसभामा उद्योगले खरिद प्रक्रियालाई आफ्नै इप्रोक्युमेन्ट सिस्टम सञ्चालन गरी विद्युतीय प्रणालीबाट शिलबन्दी दरभाउपत्र तथा बोलपत्र प्राप्त गरी खरिद गर्ने गरेको जानकारी दिए ।

कम्पनीले यसका अतिरिक्त सिमेण्ट बिक्री, लेखा, भण्डार लगायतका दैनिक कारोबार हुने क्रियाकलापहरुलाई इन्टरप्राइजेज रिसोर्सेज प्लानिङ्ग सिस्टम (Enterprises Resource Planning System) ERP मार्फत सञ्चालन गरिएको जानकारी दिएको छ । सो इआरपी प्रणालीलाई फूल अटोमेसन बनाई उद्योगको अधिकांश क्रियाकलापलाई समेट्ने गरी सञ्चालन गर्न परामर्शदाता नियुक्त गरी सकिएको छ ।

हाल संचालनमा रहेको वेबसाइटलाई परिमार्जन गरी उद्योगको सूचनामूलक जानकारीहरु सम्प्रेषण गर्ने कार्य समेत अगाडि बढाइएको जनाएको छ ।

यसैबिच उद्योगको अधिकृत पूँजी रु ४ अर्ब र जारी तथा चुक्ता पूँजी रु ३ अर्ब ६४ करोड ८० लाख ५१ हजार रहेको छ र त्यसलाई वृद्धि गर्ने भएको छ । कम्पनीले जापान सरकारले नेपाल सरकारलाई यो उद्योग स्थापना गर्न उपलब्ध गराएको ऋणलाई अनुदानमा परिणत गरिसकेको अवस्थामा साधारण सभामा उद्योगले नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी साँवा तथा सोको ब्याज समेत रु ३ अर्ब ३८ करोड साधारण शेयर पूँजीमा परिवर्तन गर्ने स्वीकृतिका लागि पेश गरिएको उल्लेख गरेको छ । जस अनुसार जारी तथा चुक्ता पूँजी रु ७ अर्ब ३ करोड हुन आउनेछ ।

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...