
काठमाडौं ।
विश्व बजारमा रहेको सेमिकण्डक्टर चिप अभावका कारण अटोमोबाइल लगायतका थुप्रै क्षेत्रमा नकारात्मक असर परिसकेको छ। यो असर फैलिएर अब पर्सनल कम्प्युटर स्मार्टफोन तथा होम अप्लाय्नसलगायत कन्जुमर इलेक्ट्रोनिक्स क्षेत्रमा दबाब बनाइरहेको छ। यसका कारण यी सबै क्षेत्रका सामानहरुको मूल्य आकाशिँदो छ।
चाइना डेलीको एक रिपोर्ट अनुसार यी बजारहरुमा यस वर्षको शुरुवातदेखि नै मूल्य समायोजन हुँदै आएको छ। यसैगरी बिजनेस हेराल्डमा आएको एक समाचारले चीनमा ल्यापटपको औसत बिक्री मूल्य यो वर्षको पहिलो त्रैमासमा ६.१ प्रतिशतले बढेको देखाएको छ। लेनोभो चीनका अध्यक्ष लिउ जुनले वित्तीय विवरण पेश गर्ने बेला पर्सनल कम्प्युटर उद्योगले यो वर्षैभरी मूल्य वृद्धि देख्न पाउने बताए।
आईडीसीका अनुसन्धाता जितेश अर्बानीले भने, ‘बजारमा लगातार कच्चा पदार्थ र पार्टपुर्जा अभावका कारण औसत बिक्री मूल्य बढिरहेको छ।’
अनुसन्धानको तथ्याङ्कले ३० भन्दा बढी सेमिकण्डक्टर कम्पनीले यो वर्षको दोस्रो त्रैमासदेखि नै मूल्य समायोजन शुरु गरिसकेका छन्। यसका लागस उनीहरुले १० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन्।
आईडीसी कार्यक्रमका उपाध्यक्ष र्यान रिइथले भने, ‘सेमिकण्डक्टरको यो अभावले आपूर्तिकर्ताहरुलाई उपभोक्ताको माग धान्न आगामी दिनमा अझ गाह्रो बनाउनेछ।’ चिप अभावका बावजूद पनि विश्व बजारमा सेमिकण्डक्टरको आम्दानी गत वर्ष ४६ खर्ब ४ अर्ब डलरले बढेको तथ्याङक छ।
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार