सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा महेश बस्नेतलाई दिने तयारी

  • Technology Khabar | २२ जेष्ठ २०७८, शनिबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा महेश बस्नेतलाई दिने तयारी

काठमाडौं ।

शुक्रबार गठित मन्त्रीपरिषदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आईतवार बिस्तार गर्ने तयारी गरेका छन् ।

आफूसँग रहेका मन्त्रालयहरुमा नयाँ मन्त्रीहरु राख्ने योजनासाथ आईतवार मन्त्रिपरिषद बिस्तार गर्न लागेको बताईएको छ ।

उनले आफूसँग राखेका मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महेश बस्नेतलाई दिने तयारी रहेको स्रोतलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखापत्रको अनलाइन संस्करण गोरखापत्रअनलाइनले जनाएको छ ।

रिपोर्टमा एमाले नेतालाई उदृत गर्दै महेश बस्नेतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिने तयारी रहेको उल्लेख गरिएको छ।

बस्नेत प्रधानमन्त्रीका खास र विश्वासिलो पात्र भएको हुँदा उनलाई सो मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारी दिने तयारी गरिएको बताईएको छ।

‘प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिनुभयो,’ रिपोर्टमा भनिएको छ ।

यसअघि बस्नेत उद्योग मन्त्री समेत भईसकेका छन् । उनी अहिले भंग भएको प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नम्बर २* बाट सांसद पदमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री ओलीसँग हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेका छन् ।

*सच्याईएको ।

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार