
काठमाडौं ।
चीनमा स्मार्टफोनको ढुवानी २०२० को तुलनामा चालु वर्षमा वार्षिकरुपमा ६ प्रतिशत बृद्धि हुने अपेक्षा गरिएको छ। ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) द्वारा प्रकाशित एक औद्योगिक रिपोर्ट अनुसार सो वृद्धिको अपेक्षा गरिएको छ ।
‘यद्यपि चीनको स्मार्टफोन बजारमा पहिलो त्रैमासिक अवधिमा मजबुत वृद्धि देखिएको छ, विशेष गरी वर्षको पहिलो दुई महिनामा, चिनियाँ उपभोक्ताहरू बीच फोन अपग्रेड गर्ने स्पष्ट समग्र प्रवृत्ति छैन,’ आईडीसीले भनेको छ ।
कम्पनीले प्रक्षेपण गरेअनुसार चीनको स्मार्टफोन ढुवानीको मात्रा दोस्रो त्रैमासमा र वर्षको दोस्रो अर्धवार्षिकमा संकुचित हुनेछ।
विश्वव्यापी स्मार्टफोन बजारको सन्दर्भमा कम्पनीले २०२१ मा ७.७ प्रतिशतको शिपमेन्ट वृद्धि हुने अपेक्षा गरेको छ । जसअनुसार सन् २०२१ मा विश्वभर १ अर्ब ३८ करोड युनिट पुग्ने पूर्वानुमान गरेको छ।
आईडीसीले २०२२ मा पनि यो प्रवृत्ति निरन्तर हुने र १ अर्ब ४३ करोड युनिट कुल ग्लोबल स्मार्टफोन ढुवानी हुने बताएको छ।
प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार