काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट छलफल शुरु गरेको छ ।
प्राधिकरणले आगामी वर्षमा नयाँ योजनाहरु थप गर्नुको साटो भएका परियोजना र कार्यक्रमहरुमा ध्यान केन्द्रित गर्नेगरि बजेट तयार पार्ने जनाएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रारम्भिक बजेटको छलफल बोर्डमा भईरहेको र यसमा चरणबद्धरुपमा कार्यक्रमहरुबारे अध्ययन समेत भईरहेको बताए । उनले उपभोक्ताहरुलाई ध्यानमा राखेर सेवामा सुधार र गुणस्तर अभिवृद्धिको क्षेत्रमा काम गर्ने किसिमको बजेट ल्याउन प्रयास गरिने बताए ।
‘प्राधिकरणको बोर्डमा बजेटको बारेमा छलफल शुरु भएको छ र आगामी वर्षमा हामी नयाँ कार्यक्रमहरु थप्ने भन्दा दूरसञ्चार क्षेत्रको सेवाको गुणस्तर सुधारमा केन्द्रित हुनेछौं ।’ अध्यक्ष खनालले भने ।
उनले बजेटको अनुमान अहिले गर्ने अवस्था नभएको भन्दै थप छलफलपछि मात्र अनुमानित बजेटको रकम आउन सक्ने जानकारी दिए ।
प्राधिकरणले चालु आर्थिक वर्ष १४ अर्ब ९ करोड रुपैयाँको बजेट पारित गरेको थियो । जसमध्ये ग्रामीण दूरसंचार विकास कोष तर्फ करिब ६ अर्ब रुपैयाँको परियोजना राखेको थियो भने प्राधिकरण कोषबाट खर्च हुनेगरि करिब ८ अर्ब रुपैयाँ छुट्याईएको थियो । गत वर्षको बजेटको समाचार यहाँ क्लिक गरेर हेर्नुस्।
यो पनि हेर्नुस्-
सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा शुरु, मासिक ९सय ९९ रुपैयाँमा १२० एमबीपीएसको स्पीड
प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार