इटलीमा फाइभजी पूर्वाधारमा ह्वावेका उपकरण प्रयोग गर्न सशर्त अनुमति

  • Technology Khabar | १९ जेष्ठ २०७८, बुधबार
इटलीमा फाइभजी पूर्वाधारमा ह्वावेका उपकरण प्रयोग गर्न सशर्त अनुमति

काठमाडौं ।

भोडाफोनको इटलीमा रहेको कार्यालयले आफ्नो फाइभजी रेडियो एक्सेस नेटवर्कका लाग विश्वकै अग्रणी दूरसञ्चार उपकरण निर्माता ह्वावेका सामग्री प्रयोग गर्न शर्तसहितको अनुमति पाएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रधानमन्त्री मारियो द्राघीको नेतृत्वमा रहेको राष्ट्रिय एकताको सरकारले भोडाफोन र ह्वावेबीच मे २० तारिखमा भएको सम्झाैतालाई अनुमोदन गरेको हो।

सरकारले यसलाई अनुमोदन गर्दा ह्वावेले प्राविधिक समस्या समाधानमा कुनै बाधा व्यवधान पुर्याउन नपाउने तथा काम गर्दा अति नै उच्च सुरक्षा संयन्त्र अपनाउनुपर्ने जस्ता केही अनिवार्य नियमहरु तोकेको छ।

‘गोल्डेन पावर्स’ का आधारमा इटलीले यूरोपेली बाहेकका सेवा प्रदायकसँगको साझेदारी खारेज गर्न वा कडा नियम लगाउन सक्छ। सन् २०१२ देखि यता इटलीमा गोल्डेन पावर्स रणनैतिक महत्वका आधारमा स्थानीय उद्योगमा विदेशीको चासो देखिएका तीन घटनाहरुमा प्रयोग गरेको छ।

यो अनुमति अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएको र आफ्ना हितैषीहरु इटलीलगायत अन्य यूरोपेली राष्ट्रहरुलाई पनि ह्वावेलाई फाइभजी पूर्वाधारमा संलग्न नगराउन आग्रह गर्दै आएको बेला दिइएकोले केही अस्वाभाविक पनि सुनिएको छ। अमेरिकाले चीनका कम्पनीहरु ह्वावे र जेडटीईलाई बाहेक गर्नुमा राष्ट्रिय सुरक्षाको खतरा नै प्रमुख कारण रहेको बताउँदै आएको छ।

तर इटलीले फाइभजी पूर्वाधारमा संलग्न हुनबाट ह्वावेलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छैन तर कडा नियम भने अगाडि ल्याएको छ।

यसअघि सरकारले ‍गत वर्ष अक्टोबरमा फास्टवेब नामक कम्पनीलाई फाइभजी उपकरण आयातका लागि ह्वावेसँग सम्झैता गर्नबाट रोकेको थियो भने त्यतिबेला ह्‍वावेसम्बन्धी थुप्रै सम्वेदनशील तथ्याङ्कको गहन अनुसन्धान र विश्लेषण गरिएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...