Technology Khabar १६ जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
साइबर ब्यूरोले अपरिचित व्यक्तिसँग सामाजिक सञ्लालमा भिडियो कलमार्फत कुराकानी नगर्न र सचेत रहन आग्रह गरेको छ । नेपाल प्रहरीको व्यूरोले आईतबार एक विज्ञप्ती जारी गर्दै अपरिचित व्यक्तिहरु जाे काेहीसँग भिडियोकल तथा भ्वाइसकल नगर्न आग्रह गरेको हो ।
विगत केही समयदेखि केही व्यक्ति र आपराधिक समूहहरुले प्रविधिको दूरूपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी रकम माग गर्ने गरेको साइबर ब्यूरोले जानकारी दिएको छ ।
अपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन र प्रलोभनमा परि कोही कसैसँग भिडियोकल, भ्वाइसकल नगर्न साइबर व्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आग्रह गरेका हुन् ।
अपरिचित व्यक्तिले अश्लिल क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिकरअश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई अनैतिक र अश्लिल क्रियाकलापलमा संलग्न गराए पश्चात उक्त भिडियो कलको रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु भन्दै धम्की दिने गरेको ब्यूरोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलाप प्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको सिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारको भिडियोकल तथा भ्वाइसकल नगर्न हुन सम्बन्धित सबैको लागि जानकारी तथा जनचेतनाका लागि सूचित गरिन्छ,’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।
पछिल्ल दिनहरुमा यस्ता किसिमका साइबर अपराध बढिरहेको भन्दै ब्यूरोले सबैलाई सतर्क गराएको हो ।

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार