Technology Khabar १६ जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
सरकारले पछिल्लो बजेट भाषणमार्फत ईलेक्ट्रिक भेहिकल अर्थात विद्युतीय सवारीसाधनमा लाग्ने केही कर हटाउने र घटाउने गरेपछि वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा तीन महिना देखि थन्किएका ईलेक्ट्रिक भेहिकलको जाँचपास हुने भएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चुडामणी शर्माका अनुसार पछिल्लो तीन महिना यता एउटा पनि ईलेक्ट्रिक भेहिकलको जाँचपास भएको छैन । उनका अनुसार यस अवधिमा २ चक्के ईलेक्ट्रिक भेहिकल भने जाँचपास भएका छन् ।
‘वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा नाका भएर नेपाल भित्रिने ईलेक्ट्रिक भेहिकल पछिल्लो तीन महिना यता एउटा पनि जाँचपास भएनन् । त्यसअघि छिटफुट जाँचपास गर्दे भित्रिरहेका थिए तर पछिल्लो ३ महिनामा एउटा पनि जाँच पास भएन् । हिजो बजेट भाषण भयो ईलेक्ट्रिक भेहिकलमा लाग्ने अन्तशुल्क हटाईयो, भन्सार शुल्क पनि घट्यो अब भने जाँचपास भएर भित्रिन्छन् होला,’ एक भन्सार कर्मचारीले भने ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालकहादुर खत्रीले सरकारले कर छुट गरेकाले अब ईलेक्ट्रिक भेहिकल भित्रिने क्रम बढ्ने जानकारी दिए । भन्सार यार्डमा करिब ५९ वटा ईलेक्ट्रिक भेहिकल थन्किएर रहेको उनले जानकारी दिए ।
गत कार्तिक महिना देखि फागुको दोश्रो हप्ता सम्ममा ९२ वटा चार चक्के ईलेक्ट्रिक भेहिकल भित्रिएको तथ्याङक देखाउदै उनले भने पछिल्लो चार महिनामा नै ४ सय १८ वटा दुई चक्के ईलेक्ट्रिकल भेहिकल भित्रिएको छ ।
पहिले खरिद मुल्यको ४० प्रतिशत भन्सार शुल्क, १२ देखि ६० प्रतिशत अन्तशुल्क, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने गरेको थियो ।
हाल आएर भन्सार शुल्क १० देखि ४० प्रतिशतमा पुर्याईएको छ भने अन्तशुल्क हटाईएको र भ्याट तथा सडक दस्तुर यथावत राखिएको छ । गोरखापत्रअनलाइनबाट
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार